- पुस २८, २०८२
- No Comment
- 87
कल्याणपुर नगरपालिकाका पूर्वमेयर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ — सिराहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह तेली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालत काठमाडौँले सोमबार उनलाई घुस लिएको अभियोगमा ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले साहलाई भ्रष्टाचार ठहर गरेको हो। अदालतका अनुसार मेयर साहले नगरपालिकाको आर्थिक वर्ष २०८१–८२ अन्तर्गतको पक्की नाला निर्माण योजनाको भुक्तानी मिलाइदिने बहानामा उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीसँग १ लाख रुपैयाँ घुस मागेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले साहलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो। सुनुवाइका क्रममा साहले उक्त रकम छोराको व्यापारिक कारोबारसँग सम्बन्धित भएको दाबी गरे पनि मोबाइल संवादको स्क्रिप्ट र बरामद गरिएको नोटको नम्बर मिल्दा उनको संलग्नता पुष्टि भएको अदालतले जनाएको छ।
अदालतले साहलाई १ लाख रुपैयाँ जरिवानासहित अपराध पीडित संरक्षण कोषमा ४ हजार रुपैयाँ बुझाउन पनि आदेश दिएको छ।
यसैबीच, सोही मुद्दामा प्रतिवादी बनाइएकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीले भने सफाइ पाएकी छन्। अख्तियारले बयान फेरेको (होस्टाइल) आरोपमा उनीविरुद्ध मुद्दा दायर गरे पनि जानीजानी भ्रष्टाचार गरेको पुष्टि हुने ठोस प्रमाण नपुगेकाले अदालतले उनलाई सफाइ दिएको हो।