- मंसिर १७, २०८२
- No Comment
- 61
नक्कली नेपाली रुपैयाँसहित तीन जना पक्राउ
रौतहट — ठूलो परिमाणमा नक्कली नेपाली रुपैयाँ बरामदसँगै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले ईशनाथ नगरपालिका–४ लतमरीस्थित नेपाल–भारत सीमाक्षेत्रमा एक भारतीय नागरिकसहित तीन जनालाई मंगलबार नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ प्रवेश गर्ने क्रममा बिआर–०५एटी–०९८३ नम्बरको मोटरसाइकललाई नियमित जाँचका क्रममा रोक्दा उनीहरूको साथबाट ठूलो संख्यामा नक्कली नोट फेला परेको प्रहरीको भनाइ छ।
पक्राउ परेका मध्ये भारत बिहार राज्य, पूर्वी चम्पारण कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका–४ का २१ वर्षीय गोनालाल राउत तथा २० वर्षीय अजय पटेल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूबाट १ हजार रुपैयाँ दरका ११८ थान नक्कली नेपाली नोट बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।