- मंसिर ६, २०८२
- No Comment
- 189
राजनीतिक र सामाजिक एकताकै बलमा कर्णाली अघि बढ्ने : मुख्यमन्त्री कडेल
सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश विकास र समृद्धिको मुख्य आधार राजनीतिक तथा सामाजिक एकता भएको बताएका छन्। नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटीको आठौँ पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै उनले कर्णाली पछाडि पर्नुकाे कारण इच्छाशक्तिको कमी नभई एकतामा देखिएको कमजोरी रहेको बताए।
मुख्यमन्त्री कडेलका अनुसार पार्टीभित्र र बाहिर देखिने विभाजनात्मक सोचका कारण विकासका महत्त्वपूर्ण प्रक्रियाहरू थिल्थिलो बनेका छन्। “कर्णालीलाई अघि बढाउने तागत एउटै हो—एकता। अलग–अलग आवाजबाट होइन, साझा दृष्टिकोण र उद्देश्यका साथ अघि बढ्दा मात्रै कर्णालीले छलाङ मार्न सक्छ,” उनले भने।
एमालेले पछिल्ला चुनौतीलाई अवसरमा बदल्ने उद्देश्यसहित जनताको घर–घरमा पुगिरहेको उल्लेख गर्दै कडेलले व्यक्तिगत हितलाई प्राथमिकता दिने प्रवृत्तिले संगठन र प्रदेश दुवै कमजोर बन्दै गएको बताए। “सामूहिक भावना भन्दा व्यक्तिगत लाभ हेर्ने बानी त्याग्नुपर्छ। अवसर खोज्नु मात्र होइन, जिम्मेवारी बोकेर अघि बढ्ने समय आएको छ,” उनले स्पष्ट गरे।
हालको राजनीतिक परिस्थिति सहज नभएको उल्लेख गर्दै उनले जटिल अवस्था सहज बनाउन उचित निर्णय र सही नेतृत्वको छनोट आवश्यक रहेको बताए। “नेतृत्वको विषयमा पनि कर्णालीले एउटै धारणा बनाउनु अत्यावश्यक छ,” कडेलले भने।
सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे पनि उनले नेतादेखि कार्यकर्तासम्म सबैलाई सचेत रहन आग्रह गरे। उनकाे भनाइमा, “सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यम मात्रै होइन, संगठनलाई बलियो वा कमजोर पार्न सक्ने संवेदनशील उपकरण पनि हो।”
देशको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले संविधानमाथि प्रश्न उठ्ने अवस्था नआओस् भनेर सबै दलले संविधानको रक्षा गर्ने जिम्मेवारी निभाउनुपर्ने बताए।
बैठकमा केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल, ठम्मर विष्ट, प्रदेश कमिटी अध्यक्ष गुलाबजग शाहसहित जिल्ला कमिटीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।