- अशोज २६, २०८२
- No Comment
- 21
नेपाल घुम्न आएका पर्यटकको पासपोर्ट बाँदरले लगेपछि…

पोखरा — अष्ट्रेलियाबाट नेपाल घुम्न आएका एक पर्यटकको पासपोर्ट बाँदरले लगेको छ। पर्वतको बन्जी जम्प नजिक गाडीको छतमा राखिएको झोलाबाट बाँदरले पासपोर्ट लिएर भिरतिर भागेको पर्यटकले बताएका छन्।
सो झोलामा अष्ट्रेलियन नागरिकसहित नेपालकै अर्को एक पर्यटकको पासपोर्ट पनि रहेको थियो। पासपोर्ट बाँदरले लगेको जानकारी पाएपछि खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको पर्वत प्रहरी प्रमुख डीएसपी विजय यादवले जानकारी दिए।
“पर्यटक मुक्तिनाथ जान निस्किएका रहेछन्। कुश्मामा बन्जी घुम्न गएका बेला झोला गाडीको छतमा राखिएको रहेछ,” डीएसपी यादवले भने, “फर्किँदा झोला नभएपछि बाँदरले लगेको जानकारी गराइएको हो।”
प्रहरीले दुई दिनदेखि जंगल र भीर क्षेत्रमा खोजी जारी राखे पनि पासपोर्ट फेला परेको छैन। “सईको नेतृत्वमा सात जना प्रहरी खटिएका थिए, आज सशस्त्र टोली पनि पठाइएको छ,” यादवले बताए।
झोला नभेटिएपछि पर्यटकहरूले प्रहरीमा निवेदन दर्ता गरेका छन्। डीएसपी यादवका अनुसार खोजी जारी रहेको र पासपोर्ट नपाइएमा नयाँ प्रक्रियाबाट लिनुपर्ने हुन्छ।