- अशोज २५, २०८२
- No Comment
- 19
मदिरा सेवन गरेर मध्यरातमा राउटे बस्तीमा पस्ने युवक पक्राउ

सुर्खेत — मध्यरात राउटे बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार राति करिब १२ बजे लेकबेशी नगरपालिका–९ चौरासे नजिक जंगलमा बसोबास गर्दै आएका राउटे बस्तीमा प्रवेश गरी दुर्व्यवहार गर्न खोजेको आरोपमा लेकबेशी–५, नेटाका राजु रजालीलाई पक्राउ गरिएको हो।
मदिरा सेवन गरेर राउटे महिला रहेको छाप्रोमा प्रवेश गरेका रजालीलाई राउटे युवाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। राउटे महिलाले नै आफूलाई जबरजस्ती गर्न खोजेको बताएपछि बस्तीकै युवाहरूले समातेर राखेको राउटे समुदायसँग काम गर्दै आएकी कर्मचारी दुर्गा खत्रीले जानकारी दिइन् ।
घटना थाहा पाएपछि शनिबार बिहान प्रहरी टोली बस्तीमै पुगेर रजालीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोनजंग बुढाथोकीले बताए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यस घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक०ले पनि चासो देखाएका छन्। दुवै संस्थाका टोलीले शनिबार बस्तीमा पुगेर जानकारी लिएको जनाइएको छ।