- अशोज ८, २०८२
- No Comment
- 39
सुर्खेत कारागारमा कैदीबन्दीमा छाला र मानसिक समस्या बढी

सुर्खेत। कारागार कार्यालय सुर्खेतमा मंगलबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कैदीबन्दीहरूमा छाला र मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढी देखिएको छ । कर्णाली प्रदेश प्रहरी अस्पताल वीरेन्द्रनगर र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको संयुक्त पहलमा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।
कुल ४४५ कैदीबन्दीमध्ये २१३ जनाले प्रत्यक्ष स्वास्थ्य जाँच, औषधि वितरण र परामर्श पाएका छन् । सहभागीमध्ये १८५ पुरुष, २७ महिला र १ जना आश्रित बालक रहेका थिए ।
मुख्य चिकित्सक टोलीका डा. श्यामकृष्ण लौडारीले २५–३५ वर्ष उमेर समूहका कैदीबन्दीमा छालासम्बन्धी समस्या बढी देखिएको बताए । साथै निद्रामा समस्या, हल्का डिप्रेशन, डर लाग्ने जस्ता मानसिक लक्षणसमेत पाइएका छन् । उमेर ढल्केका कैदीमा मधुमेह र उच्च रक्तचाप जस्ता पुराना रोग देखिएको पनि उल्लेख गरियो ।
स्वास्थ्यकर्मीका अनुसार सुरुमा संकोच देखाए पनि प्रहरी र चिकित्सकको पहलपछि कैदीहरूले आफ्ना समस्या खुलेर राख्न थालेका थिए । डाक्टरहरूले नियमित स्वास्थ्य परीक्षण, मानसिक परामर्श, स्वच्छता र पौष्टिक आहारमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
डा. लौडारीले भने, “यस्ता स्वास्थ्य शिविरले केवल रोगको उपचार मात्र होइन, कैदीबन्दीलाई सुधार र पुनःस्थापनातर्फ उन्मुख गराउने महत्वपूर्ण भूमिका खेल्छ ।”
कारागार प्रशासनले भविष्यमा यस्ता स्वास्थ्य शिविर नियमित सञ्चालन गरेर दीर्घकालीन रोग नियन्त्रण र कैदीबन्दीको समग्र सुधारमा योगदान दिने प्रतिवद्धता जनाएको छ ।