- अशोज ७, २०८२
- No Comment
- 51
जेन्जीका माग पवित्र तर आन्दोलन स्वार्थी समूहले हाइज्याक गर्यो : मुख्यमन्त्री कडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कडेलले भदौ २३ र २४ गते भएको जेनेरेसन–जेड (जेन्जी) आन्दोलनका पवित्र मागहरूलाई स्वार्थी समूहले हाइज्याक गरेको आरोप लगाएका छन् ।
सोमबार सुर्खेतमा नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र कर्णाली प्रदेशले आयोजना गरेको भेलामा सम्बोधन गर्दै मुख्यमन्त्री कडेलले भ्रष्टाचार नियन्त्रण, स्थिर सरकार र सुशासनका लागि उठेका मागलाई सबैले सकारात्मक लिनुपर्ने भए पनि गलत नियत बोकेका समूहले आन्दोलनलाई बिगारेको बताए ।
उनले भने, “जेन्जी पुस्ताले पवित्र भावनासहित उठाएका मुद्दा हाइज्याक र डाइभर्ट गर्ने काम भए । निर्वाचित संस्था फाल्ने, मन्त्री माग्न दूतावास धाउने कार्य भए, जुन सार्वभौम राष्ट्रका लागि लज्जास्पद हो । यस आन्दोलनले न अधिकार स्थापित गर्यो, न लोकतन्त्र र सार्वभौमसत्तालाई बलियो बनायो ।”
मुख्यमन्त्री कडेलका अनुसार नागरिक सरकार गठन, सेनापतिसँग वार्ता, प्रतिनिधिसभा विघटन र विदेशी दूतावासमा पदका लागि धाउने घटनाक्रमले जेन्जी आन्दोलनको पवित्रता मर्दन गरेको छ । उनले आन्दोलनपछिका आगजनी र तोडफोडले मुलुकलाई दीर्घकालीन नोक्सान पुर्याएको पनि बताए ।
एमाले नेता कडेलले आन्दोलनलाई चुनौतीका रूपमा स्वीकार गर्दै कार्यकर्तालाई संगठन विस्तारमा लाग्न आह्वान गरे । “यो नेतृत्व स्थापित हुने अवसर पनि हो । जनतामाझ जानुहोस्, आफ्नो कुरा राख्नुहोस्, सुझाव लिनुहोस् । कमीकमजोरी पार्टी पद्धतिबाटै मूल्यांकन हुन्छ,” उनले भने ।
भेलामा एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाहले संकटको बेला नेतृत्वमाथि प्रहार गरेर पार्टीलाई कमजोर बनाउन नहुने धारणा राखे । उनले संघीय लोकतान्त्रिक गणतन्त्र र मुलुकको सार्वभौमसत्ता संकटमा रहेको वर्तमान अवस्थामा कार्यकर्ताले विचलित नभई पार्टी सुदृढ बनाउनुपर्ने बताए ।
जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा एमाले प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाईले पछिल्लो परिस्थितिमा कर्णालीमा एमाले अझ एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरे । भेलामा विभिन्न जनसंगठनका पदाधिकारीहरूले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी नेतृत्वले लिनुपर्ने रणनीतिबारे सुझाव दिएका थिए ।