- अशोज ६, २०८२
- No Comment
- 44
सुरु भयो बडादसैं, आज जमरा राखिँदै

असाेज ६ – हिन्दू धर्मावलम्बीको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ।
आज घरघरमा घटस्थापना गरी जमरा राख्ने परम्परा छ। बिहानै नित्यकर्म सकेर नजिकैको नदी वा चोखो स्थलबाट ल्याइएको बालुवा–माटो पूजा कोठामा राखी त्यसमा यव (जौ) रोपिन्छ। यसरी राखिएको जमरा विजयादशमीका दिन टीका र प्रसादसहित ग्रहण गरिन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार जमरामा जौबाहेक अरु अन्न रोप्ने विधि छैन। तथापि, कतिपय परिवारले कुल परम्परा अनुसार अन्य अन्न पनि मिसाउने गरेका छन्। जमरा आयुर्वेदिक औषधिका रूपमा समेत उपयोग हुने जनाइएको छ।
यस वर्ष घटस्थापनाको साइत बिहान ९:१३ बजे रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सूर्योदयकालमै प्रतिपदा परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यता अनुसार यो समय तोकिएको हो।
नवरात्रभर दुर्गा देवीका नौ रुप—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री—को पूजा गरिन्छ। यसै कारण यसलाई नवरात्र पनि भनिन्छ। दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका स्तोत्रको पाठ पारायण गर्ने परम्परा छ।
यसै क्रममा काठमाडौँको हनुमानढोका दरबारस्थित दसैं घरमा पनि आजैदेखि वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ। महानवमीका दिन त्यहाँ ५४ बोका र ५४ राँगाको बलि दिने परम्परा रहिआएको छ।
यस वर्षको विजयादशमी असोज १६ गते परेको छ। देवी विसर्जनको साइत बिहान ९:२३ बजे र टीका–जमरा ग्रहण गर्ने उत्तम साइत ११:५३ बजे रहेको समितिले जनाएको छ।
दसैंलाई परिवार–परिवारमा पुनर्मिलनको पर्वका रूपमा पनि लिइन्छ। रोजगारी, अध्ययन वा अन्य कारणले टाढा रहेका मानिस यस अवसरमा घर फर्की आफ्ना परिवारसँग खुशीका साथ पर्व मनाउने परम्परा छ। शैक्षिक संस्थाहरूले पनि दसैंको विदा आजदेखि नै सुरु गरेका छन्।