- अशोज ५, २०८२
- No Comment
- 74
चौकुने गाउँपालिका वडा न.–६ स्थित श्री नवाडी सामुदायिक वनमा देखियो अनौठो सर्प
सुर्खेत । चौकुने गाउँपालिका–६ श्री नवाडी सामुदायिक वन अर्न्तगत झ्यालेकाँडाको जङ्गलभित्र अनौठो स्वरूप भएको सर्प देखिएको छ। स्थानीय महिला मनिशा गाहा मगरले बाख्रा चराउन जाने क्रममा उक्त सर्प देखेकी हुन्। उनका अनुसार सर्पको आकार सामान्य सर्पभन्दा फरक, बाक्लो र असामान्य देखिने खालको थियो। “मैले पहिले कहिल्यै यस्तो सर्प देखेकी थिइनँ, हेर्दा निकै डर लाग्ने खालको थियो मैले टाढैबाट फोटो खिचे ” गाहा मगरले भनिन्। सर्पको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसबारे स्थानीयवासीमा चासो र कौतुहलता बढेको छ। कतिपयले यसलाई दुर्लभ प्रजातिको सर्प हुन सक्ने अनुमान गरेका छन् भने कसैले यसलाई नाग देवताको स्वरुप भएको अनुमान गरेका छन् ।
तर प्राविधिक अध्ययन नभएसम्म वास्तविकता पुष्टि गर्न नसकिने सरोकारवालाहरूको भनाइ रहेको छ। यसअघि पनि श्री नवाडी सामुदायिक बनको झ्यालेकाँडा बनक्षेत्रमा विभिन्न किसिमका अदभूत बस्तुहरु देखिँदै आएका सोही ठाउँकी स्थानीय अमृता थापा मगरले बताएकी छन्। तर यसपटक देखिएको सर्प असामान्य देखिएकाले स्थानीयवासीमा उत्सुकता पनि बढेको छ। श्री नवाडी सामुदायिक बनका अध्यक्ष भरत बिष्टले यसबारे जानकारी लिइ र चाँडै प्राविधिक टोली खटाएर अध्ययन तथा सत्य तथ्य पुष्टि गर्ने तयारी भइरहेको बताएका छन्। वन संरक्षण, जैविक विविधता र मानव–वन्यजन्तु सहअस्तित्वका दृष्टिले पनि यस बिषयमा थप ध्यान दिनुपर्ने आवश्यकता देखाएको सरोकारवालाहरूले बताएका छन्।