- अशोज ४, २०८२
- No Comment
- 51
अवरुद्ध सडक खुलाउन सरकार सक्रिय

काठमाडौँ। देशका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ। शुक्रबार रातिदेखि नारायणगढ–मुग्लिनसहितका मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग आपतकालीन बैठक डाकेका हुन्।
मन्त्री घिसिङले दसैँ र तिहारका अवसरमा यातायात व्यवस्थापन सहज बनाउन र अवरुद्ध सडक तत्काल खोल्ने उद्देश्यले कार्यदल गठन गर्ने तयारी गरेको जनाइएको छ।
हिजो साँझ करिब ६ः३० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै निरन्तर पहिरो खस्दा सडक रातभर बन्द भएको थियो। आज बिहान ७ः४० मा पुनः ठूलो पहिरो खसेपछि आवागमन थप अवरुद्ध भएको हो।
हाल सो स्थानमा तीन वटा ‘लोडर’ र एउटा ‘स्काभेटर’ परिचालन गरी दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ। सम्बन्धित प्राधिकरणका अनुसार थप पहिरो नखसेमा कम्तीमा चार घण्टापछि सडक सञ्चालनमा आउने सम्भावना रहेको छ।