- अशोज ४, २०८२
- No Comment
- 45
देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भयो : प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भएको आरोप लगाएका छन्। संविधान दिवसको अवसरमा जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
प्रचण्डले देश अहिले गम्भीर सङ्कटका बीचमा रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा एकताबद्ध हुन आह्वान गरे। उनले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माण प्रक्रियामा जनयुद्धको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै हजारौंको त्यागबिना संविधान सभाबाट संविधान निर्माण सम्भव नभएको बताए।
प्रत्यक्ष निर्वाचित कार्यकारी र समानुपातिक प्रतिनिधित्व जस्ता विषय संविधानमा समावेश गर्नुपर्ने माग आफूहरूले उठाउँदै आएको स्मरण गर्दै प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा माओवादी केन्द्रको विचार झनै महत्वपूर्ण बनेको दाबी गरे।
हालै सम्पन्न जेन्जी आन्दोलनप्रति टिप्पणी गर्दै उनले सरकारको बल प्रयोगप्रति आपत्ति जनाए। माओवादी केन्द्रले सुरुदेखि नै संयमता अपनाउन आग्रह गर्दै आएको प्रचण्डको भनाइ छ।
उनले प्रतिकूल परिस्थितिमाझ पनि आन्दोलनले उठाएका जायज माग सम्बोधन गर्दै संविधानको रक्षामा माओवादी केन्द्रले महत्वपूर्ण भूमिका खेलिरहेको दाबी गरे।