- अशोज १, २०८२
- No Comment
- 67
नगढीको सडक ‘जेनजी मार्ग’ नामकरण हुने

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जेनजी आन्दोलनमा भएको बलिदान र योगदानको सम्मानस्वरूप धनगढी पार्क अगाडिको सडकलाई ‘जेनजी मार्ग’ नामकरण गर्ने घोषणा गरेका छन् । मेयर हमालले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जीवन गुमाउनेहरूको बलिदान इतिहासमा मात्र सीमित नभई युवाहरूको मुटुमा दीप बनेर सदैव जलिरहने उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले धनगढी उपमहानगरपालिका–१ अन्तर्गत जोशी मेडिकल चोकदेखि पार्क मोड, कबर्ड हल हुँदै शहीद गेट–क्याम्पस रोड छुने सडकसम्मलाई ‘जेनजी मार्ग’ नामकरण गर्ने जानकारी दिएका छन्। सो सडक क्षेत्रमा उपमहानगरपालिकाले महिला उद्यम बजार सञ्चालन गर्दै आएको छ ।
हमालका अनुसार उक्त सडकलाई नामकरण गर्न कार्यपालिका बैठकमा प्रस्ताव पेस गरिने छ। साथै, सो क्षेत्रमा ‘जेनजी मार्ग’ नाम प्रयोग गर्न सम्पूर्ण नगरवासीलाई अपीलसमेत गरेका छन् । न्याय, अधिकार र परिवर्तनका लागि जीवन अर्पण गर्नेहरूको साहस हामी सबैका लागि प्रेरणाको ज्योति बनेर सदैव चम्किरहनेछ,” मेयर हमालले भने । भदौ २३ गतेको आन्दोलनलाई मेयर हमालले खुला समर्थन जनाएका थिए । आन्दोलन अघि र विद्यार्थीको मृत्यु भएपछि उनले भिडियो सन्देशमार्फत आन्दोलनलाई समर्थन र सरकारी दमनको कडा विरोध गरेका थिए ।
धनगढीका सरकारी कार्यालय र मन्त्रालयहरूमा तोडफोड भए पनि मेयर हमालको समर्थनका कारण उपमहानगरपालिकाको भवन र वडा कार्यालयहरू सुरक्षित रहेका थिए ।