- भदौ १२, २०८२
- No Comment
- 99
आज भाद्र शुक्ल पञ्चमी : ऋषिपञ्चमी देशभर मनाइँदै

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। यस दिन नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी विशेष विधिपूर्वक व्रत बस्ने परम्परा छ।
पौराणिक परम्परा अनुसार महिलाले बिहानै नदी, खोला, तलाउ वा पोखरीमा स्नान गरी ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरेर शुद्धीकरण गर्ने चलन छ। सप्तऋषिको पूजा गर्दा विगतका त्रुटि वा दोषबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार रजस्वला अवधिका दोष निवारणका लागि ऋषिपञ्चमीको पूजा अत्यन्तै महत्वपूर्ण मानिन्छ। यस दिन महिलाले पञ्चगव्य सेवन गर्ने र अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप, विश्वामित्र र अरुन्धतीको पूजा गर्ने प्रचलन छ।
किंवदन्तीअनुसार इन्द्रले विश्वरुप ऋषिको हत्या गर्दा उत्पन्न भएको ब्रह्महत्या दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिएको मान्यता छ। त्यसैको परिणाम स्वरूप महिलामा रज उत्पन्न भएको विश्वास गरिएको छ।
आजको दिन स्नान गरी पूजा गरेर सामा, कागुनो, कन्दमूल र कर्कला आदिको हविष्य एक छाक सेवन गर्ने व्रतविधि छ। राजधानीको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।