- भदौ ६, २०८२
- No Comment
- 57
एसिया कपमा भारत–पाकिस्तान तीन पटक भिड्ने

नयाँ दिल्ली । आगामी एसिया कपमा भारत र पाकिस्तानबीच तीन पटकसम्म खेल हुने संभावना देखिएको छ। भारत सरकारले बहुराष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग खेल्न कुनै प्रतिबन्ध नरहेको स्पष्ट पारेको छ।
भारतको खेलकुद मन्त्रालयका अनुसार द्विपक्षीय शृङ्खलामा भने अडान यथावत रहनेछ। भारतीय टोलीले पाकिस्तानमा प्रत्यक्ष खेल्न नजाने र पाकिस्तानलाई पनि भारतमा खेल्न अनुमति नदिने निर्णय कायम रहनेछ। तर, बहुराष्ट्रिय प्रतियोगितामा भने दुबै देशका टोलीले भाग लिन पाउनेछन्।
यस पटक एसिया कपको आयोजना भारतले गर्ने भए पनि पाकिस्तानले भारतमा खेल्न अस्वीकार गरेपछि प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा सारिएको छ। प्रतियोगिता सेप्टेम्बर ९ देखि सुरु हुँदैछ। भारतीय टोलीले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा युएईविरुद्ध खेल्नेछ।
भारत र पाकिस्तानबीच पहिलो भिडन्त सेप्टेम्बर १४ मा दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। सुपर–४ चरणमा दुवै टोली पुगे सेप्टेम्बर २१ मा दोस्रो पटक भेट हुने सम्भावना छ। यदि दुवै टोली फाइनलमा प्रवेश गरे भने तेस्रो खेल पनि सेप्टेम्बर २८ मा हुने सम्भावना रहेको छ।