- भदौ ३, २०८२
- No Comment
- 52
कहाँ गए हुम्लाका डोका? प्लास्टिक र विदेश मोहले संकटमा पुर्खाको विरासत

हुम्ला। कुनै समय थियो, जब हुम्लाका हरेक घर-आँगन र गोरेटाहरूमा निगालोको चोयाले बनेका डोकाहरूको चहलपहल हुन्थ्यो। खेतबारीमा मल बोक्न होस् वा बजारबाट नुन-तेल ल्याउन, डोको हरेक हुम्लीको भरपर्दो साथी थियो। तर, आज समय फेरिएको छ। गाउँघरमा गाडी गुड्न थालेपछि र बजारमा प्लास्टिकका सामानहरू छ्यापछ्याप्ती पाइन थालेपछि यी परम्परागत डोकाहरू बिस्तारै हराउँदै गएका छन्। यो केवल डोकोको प्रयोग घट्नु मात्र होइन, पुर्खाले सुम्पेको सीप र आत्मनिर्भरताको एउटा पाटो नै धरापमा पर्नु हो।
पहिले-पहिले जंगलबाट निगालो खोजेर, त्यसलाई चिरेर डोको बुन्नु धेरैको जीविकोपार्जनको माध्यम थियो। एउटा डोको ५०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुन्थ्यो, जसले घरखर्च चलाउन ठूलो मद्दत गर्थ्यो। तर, अहिले गाउँसम्मै गाडीले सामान पुर्याइदिने भएकाले डोको बोक्ने झन्झट कसैले गर्न चाहँदैन। अर्कोतर्फ, नयाँ पुस्तालाई यो काममा रुचि छैन। उनीहरूका लागि वैदेशिक रोजगारी वा अन्य आधुनिक पेशा बढी आकर्षक बनेको छ। बचेखुचेका सीप भएका पाका पुस्ताले पनि जंगलमा निगालो पाउन छाडेको र बुनेका डोका बिक्री हुन छाडेको गुनासो गर्छन्। यसरी आधुनिकताको दौड, विदेश मोह र प्लास्टिकको अतिक्रमणले हुम्लाको मौलिक पहिचान बोकेको डोको बुन्ने परम्परा आज संकटमा परेको छ।