- साउन ३१, २०८२
- No Comment
- 183
टप इन्ड टी–२० सिरिज : दोस्रो खेलमा आज बंगलादेशसँग भिड्दै नेपाल

साउन ३१ – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज (शनिबार) बंगलादेश ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
शुक्रबार भएको पहिलो खेलमा घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकर्ससँग ४२ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ। बंगलादेशविरुद्धको खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ।
नेपालले तेस्रो खेल सोमबार मेलबर्न स्टार्ससँग, चौथो खेल मंगलबार होबार्ट हुरिकेन्ससँग खेल्नेछ। त्यसपछि अगस्ट २० मा मेलबर्न रेनेगेड्स र पाँचौ खेल अगस्ट २२ मा पाकिस्तान शाहीन्ससँग हुने तालिका छ। यस सिरिजमा ११ टोली सहभागी छन्।
नर्दर्न टेरिटोरी स्ट्राइकर्सले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमै समेटिएको थियो।
नेपालका लागि कुशल मल्लले ३४, गुलशन झाले २६, कप्तान रोहित पौडेलले २३ र दीपेन्द्र सिंह ऐरीले १९ रन जोडे। तर, अन्य ब्याट्सम्यानले ठोस प्रदर्शन गर्न नसक्दा टोली हारको सामना गर्न बाध्य भयो।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने साहब आलमले २ विकेट झारेका थिए। रुपेश सिंह, दीपेन्द्र ऐरी र कप्तान पौडेलले समान १–१ विकेट हात पारे।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।



