नेपालगञ्जमा १६५ ग्राम खैरो हिरोइनसहित ४ जना पक्राउ
नेपालगञ्ज – लागुऔषध नियन्त्रण ब्युरोको टोलीले नेपालगञ्जबाट १६५ ग्राम खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ। ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाको कमाण्डमा प्रहरी सहायक निरीक्षक (ASI) नबिनकुमार शाहीको नेतृत्वमा खटिएको टोलीले शुक्रबार राति कार्यवाही गरेको हो।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ का २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजन अन्सारी, भारत बहराइच रुपैडिया थाना निवासी २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिने क्रममा भारतीय नागरिक कार्त्तिककुमारले प्रतिकार गरेपछि उनलाई दायाँ खुट्टामा गोली हानी नियन्त्रणमा लिइएको जनाएको छ। सो भिडन्तमा टोली प्रमुख ASI शाही समेत घाइते भएका छन्।
नेपालगञ्जमा कार्यरत शाही पछिल्लो समय लागुऔषध नियन्त्रण क्षेत्रमा सक्रिय रहेका छन्। उनको नेतृत्वमा यसअघि पनि दर्जनौँ सफल कारबाही सम्पन्न भएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।