- साउन २७, २०८२
- No Comment
- 85
मध्यपश्चिम विश्वविद्यालयका अखिल (क्रान्तिकारी) का संयोजकमाथि आक्रमण, संगठनद्वारा भर्त्सना

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का एक नेतामाथि आक्रमण भएको छ । २६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित सरसफाइ तथा वृक्षारोपण कार्यक्रम चलिरहेको बेला संगठनको मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समितिका संयोजक लोकेश पोखरेलमाथि भौतिक आक्रमण भएको हो ।
अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका इञ्चार्ज दीपेन्द्र बहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा “स्वच्छ र हरियाली शहर, स्वस्थ जीवन” भन्ने नाराका साथ कार्यक्रम गरिरहेको बेला दीपक खड्का र अन्जान खड्काको नेतृत्वमा आएको समूहले संयोजक पोखरेलमाथि आक्रमण गरेको उल्लेख छ ।
संगठनले घटनाको घोर भर्त्सना गर्दै आक्रमणकारीलाई तत्काल कारबाहीको माग गरेको छ । मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थी संगठनहरूबीच विभिन्न मागहरूका विषयमा देखिने विवाद र आन्दोलनका घटनाहरू पटक-पटक हुने गरेका छन् ।
विज्ञप्तिको बोधार्थ नेकपा माओवादी (केन्द्र) कर्णाली प्रदेश समिति, अखिल (क्रान्तिकारी) केन्द्रीय समिति र अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितिलाई दिइएको छ, जसले घटनालाई राजनीतिक रूपमा पनि गम्भीरतापूर्वक लिइएको देखाउँछ । विश्वविद्यालयमा हुने यस्ता घटनाले शैक्षिक वातावरणमा नकारात्मक असर पार्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।