- बैशाख २०, २०८३
- No Comment
- 2
लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको जोखिम

काठमाडौं — देशभर मौसममा बदली भएसँगै विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा असिनाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार पहाडी र हिमाली भू-भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेश, मधेस प्रदेश लगायतका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।
आज राति भने देशभर सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश सहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।
विशेषगरी लुम्बिनी प्रदेश का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
मौसममा आएको यस प्रकारको परिवर्तनले दैनिक जनजीवन, कृषि तथा यातायात क्षेत्रमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।



