- साउन १९, २०८२
- No Comment
- 1
नेपाली यू–२० महिला रग्बी टोली घोषणा

एसिया रग्बी इमिरेट्स यू–२० सेभेन्स ट्रफी २०२५ का लागि नेपाली महिला रग्बी टोली घोषणा गरिएको छ। प्रतियोगिता आगामी साउन २४ गतेदेखि २७ गतेसम्म भारतको बिहारस्थित राजगीर रंगशालामा आयोजना हुँदैछ।
नेपाल रग्बी संघले आइतबार १३ सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डङ्गोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही रहेका छन्।
टोली साउन २२ गते भारत प्रस्थान गर्नेछ। प्रतियोगिताका लागि सावित्री पुर्जाको कप्तानीमा हाल सर्लाहीको राधाकृष्ण खेलमैदानमा प्रशिक्षण भइरहेको संघले जनाएको छ।
नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेका अनुसार, भारतको मौसमअनुकूल बनाउन टोलीलाई पछिल्लो एक महिनादेखि सर्लाहीमा विशेष प्रशिक्षण दिइएको हो।
राजगीर रंगशालामा हुने उक्त प्रतियोगितामा एसियाका ११ राष्ट्रका टोलीहरूले प्रतिस्पर्धा गर्ने छन्। नेपाली टोलीले पहिलोपटक यू–२० स्तरको अन्तर्राष्ट्रिय रग्बी प्रतियोगितामा सहभागिता जनाउने तयारी गरेको हो।
रग्बी संघले प्रतियोगिता सफल पार्न र नेपाली टोलीलाई थप आत्मविश्वासका साथ प्रतिस्पर्धा गराउन आवश्यक समन्वय र तयारी गरिरहेको जनाएको छ।