- साउन १४, २०८२
- No Comment
- 96
कालिकोटकी महिलाद्वारा प्रहरी जवानविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता
काठमाडौं । कालिकोट शान्नित्रिवेणीकी एक महिलाले प्रहरी जवानविरुद्ध जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरेकी छन्। वाजुरा स्थायी घर भई हाल काठमाडौं उपत्यकामा कार्यरत प्रहरी जवान मानवबहादुर विकमाथि ती महिलाले अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र साइबर अपराधसम्बन्धी गम्भीर आरोप लगाएकी हुन्।
पीडित महिलाका अनुसार प्रहरी जवान विकले जागिर लगाइदिने प्रलोभन देखाएर आफूमाथि जबर्जस्ती करणी गरेका थिए। ती महिलाले दाबी गरेअनुसार विकले उनलाई अपहरण गरी एक कोठामा बन्दी बनाइ जबर्जस्ती करणी गरेका थिए। साथै, विकले ती महिलालाई आफ्नो श्रीमती भएको झुटो दाबी गर्दै सामाजिक सञ्जाल फेसबुकमा दुबैजनाको तस्बिर पोष्टसमेत गरेका थिए।
मंगलवार साँझ ललितपुर प्रहरी परिसरमा जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरिएको हो। यसअघि उक्त मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गरिरहेको भन्दै ज्वाला खबर डटकममा समाचार प्रकाशित भएको थियो। महिलाले भतिजालाई साथ लिएर मुद्दा दर्ता गर्न गएकोमा, उल्टै प्रहरीले उनका भाइलाई दुई दिनसम्म हिरासतमा राखेको आरोप छ। मुद्दा दर्ता भएपछि मात्र उनलाई रिहा गरिएको बताइएको छ।
पीडितले अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र साइबर अपराधसम्बन्धी चारवटा मुद्दा दर्ता गर्न खोजेकी थिइन्। तर प्रहरीले भने हाललाई जबर्जस्ती करणीसम्बन्धी मुद्दा मात्र दर्ता गरेको हो। बाँकी अपहरण र शरीर बन्धकको मुद्दा प्रहरी परिसर काठमाडौंमा र साइबर अपराधसम्बन्धी मुद्दा साइबर ब्युरोमा दर्ता गर्न भनिएको छ।
प्रहरीले अभियुक्त प्रहरी जवान विकलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। साथै, पीडित महिला बुधवार बाँकी मुद्दा दर्ता गर्न सम्बन्धित निकायमा जाने तयारीमा रहेको बताइएको छ।
यस घटना सम्बन्धी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।