• साउन १२, २०८२
  • No Comment
  • 157

कर्णालीमा ११ अर्ब बराबरको घर बीमा कार्यक्रम सुरु, विपद् जोखिममा रहेका १६ हजार घरधुरीलाई पहिलो चरणमा राहत

सुर्खेत । कर्णाली प्रदेश सरकारले नागरिकको सम्पत्ति सुरक्षाका लागि एक महत्त्वपूर्ण र नवीन कार्यक्रमको थालनी गरेको छ । प्राकृतिक विपद्को उच्च जोखिममा रहेको प्रदेशका नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले “घर बीमा कार्यक्रम” औपचारिक रूपमा लागू गरिएको हो । मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गर्नुभएको यस कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ वटा स्थानीय तहका १६ हजार ७२ घरधुरीको बीमा गरिएको छ, जसको कुल बीमाङ्क रकम साढे ११ अर्ब रुपैयाँभन्दा बढी रहेको छ ।

कर्णाली प्रदेश सरकारले आफ्नो आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश गरेबमोजिम यो कार्यक्रम सुरु गरेको हो । प्रदेशका नागरिकले हरेक वर्ष बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति व्यहोर्नुपरेको यथार्थलाई सम्बोधन गर्न यो कार्यक्रम ल्याइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यामलाल कँडेलले भन्नुभयो, “विपद्बाट क्षति भइसकेपछि सरकार गुहार्दै हिँड्नुभन्दा थोरै रकममा बीमा गरेर आफ्नो सम्पत्तिको सुरक्षा गर्नु उत्तम हो । यो सानो लगानीले नागरिकको बासको ठूलो सुरक्षा गर्छ ।” उहाँले यो कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहहरूलाई सचेतना फैलाउन आग्रह गर्दै कृषि तथा पशु बीमालाई पनि व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका अनुसार, गत फागुन १३ गते मन्त्रिपरिषद्बाट ‘घर बीमा कार्यक्रम सम्बन्धी कार्यविधि २०८१’ स्वीकृत भएपछि कार्यक्रम कार्यान्वयनको बाटो खुलेको थियो । प्रदेशका १० जिल्लाका २३ स्थानीय तहले कार्यक्रममा सहभागी हुन प्रतिबद्धता जनाए पनि तोकिएको समयभित्र आवश्यक विवरण पठाएका १५ स्थानीय तहलाई पहिलो चरणमा समेटिएको हो । यसका लागि नेपाल बीमा प्राधिकरणले छनोट गरेका २३ वटा बीमक कम्पनीहरूलाई सम्बन्धित स्थानीय तहमा खटाइएको थियो ।

यस कार्यक्रमअन्तर्गत पहिलो चरणमा सल्यानको शारदा नगरपालिकामा सबैभन्दा बढी ४,७०७, सुर्खेतको बराहताल गाउँपालिकामा २,४६९ तथा जुम्लाको सिँजा गाउँपालिकामा १,५४५ घरको बीमा गरिएको छ । यस्तै, मुगुको छायाँनाथ रारा, सुर्खेतको गुर्भाकोट, जाजरकोटको बारेकोट, कालीकोटका महावै, तिलागुफा र पलाँता, दैलेखको ठाँटीकाँध, रुकुम पश्चिमका त्रिवेणी र सानीभेरी, हुम्लाको खार्पुनाथ, डोल्पाको जगदुल्ला तथा सुर्खेतकै लेकबेँसी नगरपालिकाका घरधुरीहरू पनि यस चरणमा समेटिएका छन् ।

कार्यविधिअनुसार प्रतिघर २० लाख रुपैयाँसम्मको बीमा प्रिमियम प्रदेश सरकारले व्यहोर्नेछ भने सोभन्दा बढीको बीमाङ्कमा घरधनीले स्वयंले थप रकम तिर्नुपर्ने व्यवस्था छ । हालसम्म सरकारले प्रिमियमबापत ९८ लाख २४ हजार ८९३ रुपैयाँ भुक्तानी गरिसकेको मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिनुभयो ।

यो बीमाले भूकम्प, आगलागी, बाढी, पहिरो, चट्याङ, डुबान, हुलदङ्गा तथा आतङ्कवादजस्ता प्राकृतिक तथा मानव सिर्जित विपद्बाट हुने क्षतिलाई समेट्नेछ । कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले प्रदेश सरकारको यो कदमले नागरिकमा सुरक्षाको अनुभूति बढाएको भन्दै यसको सफल कार्यान्वयनका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

चालु आर्थिक वर्षका लागि यस कार्यक्रममा ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको र पहिलो चरणमा छुटेका स्थानीय तहलाई क्रमशः समावेश गर्दै लगिने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *