- साउन ९, २०८२
- No Comment
- 131
कर्णालीको शान ‘पचालझरना’: सरकारद्वारा प्रमुख पर्यटकीय गन्तव्य घोषित, अब विश्वले चिन्ने
कालिकोट । कर्णाली प्रदेशको कालिकोटमा अवस्थित, नेपालकै सबैभन्दा अग्लो र मनमोहक पचालझरनालाई नेपाल सरकारले आधिकारिक रूपमा देशको १०० प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष ०८२/०८३ का लागि पचालझरनालाई ६४ औं स्थानमा राख्दै यसको पर्यटकीय विकासको ढोका खोलेको हो। यो घोषणासँगै कर्णालीको प्राकृतिक सौन्दर्यले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप चर्चा पाउने निश्चित भएको छ।
समुद्री सतहबाट ९७० मिटरको उचाइमा रहेको यो झरना ३८१ मिटर अग्लो छ, जसले तेह्रथुमको ह्यातुङ झरना (३६५ मिटर) लाई उचाइमा पछि पारेको छ। प्राविधिकहरूका अनुसार, यसको घुमाउरो भागलाई समेत जोड्दा कुल लम्बाइ ४१५ मिटर पुग्छ। कालिकोटको खाँडाचक्र नगरपालिका र पलाँता गाउँपालिकाको सिमानामा पर्ने यो झरनासम्म पुग्न कर्णाली करिडोरको लाफागाडबाट करिब तीन घण्टा पैदल र एक घण्टा गाडीको यात्रा गर्नुपर्छ। झरनाको मनमोहक दृश्यसँगै यहाँ डाँफे, कालिज जस्ता चराचुरुङ्गी र घोरल, कस्तुरी, बँदेल, हिमाली कालो भालु जस्ता दुर्लभ वन्यजन्तु पनि हेर्न पाइन्छ। पर्यटकहरूको सुविधालाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा झरनाको जानकारी दिने ‘क्यूआर कोड’ समेत तयार पारिएको छ, जसले आगन्तुकलाई सूचना लिन अत्यन्तै सजिलो बनाउनेछ। साथै, स्थानीय खार्दु गाउँका बासिन्दाले ५ घरमा ‘होमस्टे’ सञ्चालनमा ल्याएका छन्, जसले पर्यटकलाई स्थानीय संस्कृति र आतिथ्यताको न्यानो अनुभव प्रदान गर्नेछ।