- साउन ४, २०८२
- No Comment
- 65
आज यी प्रदेशमा वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । कास्कीको लुम्ले क्षेत्रमा र कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो ।
विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुनसक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ । यसअघि विभागले यस्तै सूचनामार्फत लमजुङको भुजुङ वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा पनि सावधानी अपनाउन आग्रह गरेको थियो । यस्तै, विभागले आज बिहान ५ः३० बजे अर्को सूचना जारी गर्दै इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको छ । विभागले सो आसपास वर्षाको मात्रामा क्रमशः वृद्धि भइरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ ।