- चैत्र १३, २०८१
- No Comment
- 49
उर्जामन्त्रालयले कुलमानलाई बर्खास्त गर्नुको १० कारणसहित पठायो पत्र

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुका कारणसहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पत्र पठाएको छ । मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयको पत्र कुलमानलाई मंगलबार मात्रै पठाएको हो ।
ऊर्जा सचिव सुरेश आचार्यको हस्ताक्षरसहित मन्त्रालयले कुलमानलाई पठाएको तीन पृष्ठ लामो पत्रमा बर्खास्त गर्नुपर्ने कारणहरूलाई १० वटा बुँदामा उल्लेख गरेको छ ।
मन्त्रालयले कार्यसम्पादन सम्झौता र पदीय जिम्मेवारी अनुरुपका कार्यहरू नगरेको, मन्त्रिपरिषद्ले सफाइ पेस गर्ने मौका दिए पनि सफाइ सन्तोषजनक नदेखिएको, आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको र सरकारविरुद्ध सञ्चार माध्यममा अभिव्यक्ति दिएकोलगायत आरोप लगाएको छ । साथै, भारतसँग विद्युत व्यापारसम्बन्धी सम्झौता गर्दा सरकारको अनुमति नलिएको भनेर समेत गम्भीर आरोप लगाएको छ ।
‘नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवाको शर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने भनी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१\१२\११ को बैठकबाट निर्णय भएको व्यहोरा जानकारी गराउँदछु,’ पत्रमा उल्लेख छ ।