• जेष्ठ १६, २०८३
  • No Comment
  • 7

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने समस्या देखिन थालेको छ। विशेषज्ञहरूका अनुसार यस्तो समस्या मुख्यतः धुलो, धुवाँ र वायुमण्डलमा रहेका सूक्ष्म कणका कारण हुने गर्छ।

छाती रोग विशेषज्ञ डा. अर्पणा न्यौपानेका अनुसार प्रदूषणका कारण श्वासप्रश्वास प्रणालीमा असर पर्दा शरीरले बाहिरी फोहोर तथा हानिकारक कणलाई खकारमार्फत बाहिर निकाल्ने प्रयास गर्छ। “घाँटी चिलाउने, खसखस हुने, औषधि खाँदा केही समय कम भए पनि पूर्ण रूपमा निको नहुने र खकार नआए पनि निकाल्न खोजिरहने जस्ता समस्या अहिले धुलो–धुवाँका कारण बढेका छन्,” उनले बताइन्।

उनका अनुसार कतिपय व्यक्तिमा खकार नहुँदा पनि निकाल्न खोजिरहने बानी विकसित हुन्छ, जसले घाँटीमा केही अड्किएको जस्तो अनुभूति गराउँछ। यो अवस्था प्रदूषणसँग सम्बन्धित मानसिक तथा शारीरिक प्रतिक्रियाको परिणाम हुन सक्छ।

प्रदूषणले कसरी बढाउँछ खकार?

शरीरको प्रतिरक्षा प्रणालीले घाँटीभन्दा तल पुगेका धुलो तथा फोहोरका कणलाई खकारमार्फत बाहिर निकाल्ने काम गर्छ। खकारले श्वासनलीलाई चिस्यानयुक्त राख्नुका साथै हानिकारक तत्व बाहिर निकाल्न सहयोग पुर्‍याउँछ। तर प्रदूषणका कारण अत्यधिक कण शरीरभित्र प्रवेश गर्दा खकार उत्पादन गर्ने प्रणाली बढी सक्रिय हुन्छ र खकारको मात्रा बढ्न थाल्छ।

चिकित्सकका अनुसार लगातार खकार आउने अवस्थालाई ‘एक्युट ब्रोन्काइटिस’ भनिन्छ। लामो समयसम्म समस्या निरन्तर रहिरहेमा यो ‘क्रोनिक ब्रोन्काइटिस’मा परिणत हुन सक्छ, जसले श्वासनलीमा स्थायी परिवर्तन ल्याउन सक्छ।

काठमाडौंको हावा स्वास्थ्यका लागि जोखिमपूर्ण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पीएम २.५ सूचकांकमा ४० सम्मको स्तरलाई अपेक्षाकृत सुरक्षित मानिन्छ। तर हाल काठमाडौं उपत्यकामा यो स्तर करिब १९० सम्म पुगेको तथ्यांकले देखाएको छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

विशेषज्ञहरूका अनुसार यस्तो अवस्थामा औषधिले शरीरभित्र पसेका हानिकारक कण हटाउन सहयोग गरे पनि प्रदूषित वातावरणमा निरन्तर बसिरहँदा उपचारको प्रभाव सीमित हुन सक्छ।

जोगिन के गर्ने?

चिकित्सकहरूले सकेसम्म गुणस्तरीय तथा सुरक्षित मास्क प्रयोग गर्न सुझाव दिएका छन्। बजारमा पाइने सबै मास्कले सूक्ष्म धुलोका कण रोक्न नसक्ने भएकाले एन–९५ जस्ता प्रभावकारी मास्क प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ।

विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू प्रदूषणबाट बढी प्रभावित हुने भएकाले बिहान र बेलुकीको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन सुझाव दिइएको छ। यी समयमा हावा स्थिर रहने भएकाले प्रदूषणका कण जमिन नजिकै बढी रहने र श्वासप्रश्वासमार्फत शरीरभित्र सजिलै प्रवेश गर्ने सम्भावना हुन्छ।

लामो समयसम्म खोकी लागिरहने, घाँटी खसखस हुने वा श्वासप्रश्वाससम्बन्धी अन्य समस्या देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा गई चिकित्सकको परामर्श लिन विशेषज्ञहरूले आग्रह गरेका छन्। विशेषगरी बालबालिकाको श्वासप्रश्वास प्रणाली विकासकै क्रममा हुने भएकाले उनीहरूमा यस्ता लक्षण देखिएमा तत्काल उपचार गराउनु आवश्यक रहेको चिकित्सकहरूको सुझाव छ।

सम्बन्धित खबर

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
सुर्खेतमा टिप्परको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु

सुर्खेतमा टिप्परको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु

सुर्खेत, १३ जेठ । सुर्खेतको भेरीगंगा नगरपालिकामा टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका–२ कालपानीस्थित भित्री सडकखण्डमा गुडिरहेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *