- फाल्गुन १, २०८१
- No Comment
- 51
बाल्यकालमा पो जन्मदिन खास लाग्थ्यो

भावना रोकाया
एका बिहानै छेउमै रहेको मोबाइलमा म्यासेजको घण्टि बज्यो । उठेर हेर्दा म्यासेजमा लेखिएको थियो । दिदी हजुरलाइ जन्मदिनको धेरै धेरै शुभकामना । बल्ल पो थाहाँ भयो ओहो।।आज त फागुन १ गते पो भएछ भन्ने । एकछिन एकोहोरो भँए । मनमा अनेकौं प्रश्न उठ्न थाले । यसो उमेर गन्न थालेँ कति छिट्टै २५ बर्ष पो लागेछु । उमेर बढेसँगै रमाउने चाहाना हराएर जाने रहेछ । अनि विगतका जन्मदिन सम्झिन थालेँ । सानो छँदा मेरो जन्मदिन कहिले पर्छ भनेर विद्यालयका सबै साथीहरूलाई पनि कण्ठै हुन्थ्यो । जन्मदिन आउनु दुई÷चार दिनअघिदेखि नै चकलेट केक भन्थे साथीहरूले । त्यही साथीहरूमध्ये एक÷दुई जनाले मात्र अहिले मेरो जन्मदिन सम्झिरा रहेछन् । सायद आफूले पनि त थाहा पाएको थिएन् । अहिले न जन्मदिन मनाउँ मनाउँ लाग्छ न पहिलेको जस्तो उमङ्ग हुन्छ ।
रहरहरू पनि समयसँगै बदलिने रहेछन् । ऋतु जस्तै रहर पनि कहिले हराभरा अनि कहिले खडेरी हुने रहेछन् । बाल्यकालमा साथीहरूलाई मात्र होइन, आफन्तहरूलाई, छिमेकीहरूलाई पनि जन्मदिन थाहा हुन्थ्यो । नहोस् पनि कसरी आफैँले मेरो जन्मदिन यति गते भन्दै हल्ला गर्दै हिँडिन्थ्यो । अहिले सम्झिँदा पनि रमाइलो लाग्छ । बाल्यकालमा चकलेट बोकेर आफन्त अनि, छिमेकीको घर गइन्थ्यो । आफन्त र छिमेकीले केही पैसा अनि आशीर्वाद दिन्थे । मक्ख परिन्थ्यो । विद्यालयमा पढ्दा चकलेट बोकेर विद्यालय जान्थे । शिक्षकलाई चकलेट दिदा, शिक्षकले‘ह्याप्पी बर्थ डे’ भावना भन्दा सबै साथीहरूले ताली बजाउथे । मेरो मन खुसीले उफ्रिन्थ्यो । त्यसमा थप्नु हुन्थ्यो तिमी त जनयुद्ध तथा रेडियो दिवसका दिनमा पो जन्मेको रहेछौ । अब राम्रो बोल्ने बक्ता बन्नु पर्छ है भन्नु भाथ्यो अहिले, राम्रो नभएपनि यो पत्रकारीता छेत्रमा चाहि असाधेै रहर लाग्छ ।
त्यो बेला जन्मदिनको अघिल्लो दिन राति १२ बजेसम्म निद्रा लाग्दैन थियो । अनि सानो पिटपिटे मोबाइलमा साथीहरूको ह्याप्पी बर्थ डे भन्दै केकवाला ‘पिक्चर मेसेज’ आउथ्यो । साथीहरूले जन्मदिनको शुभकामना दिएर डायरी भर्ने गर्थे । साँच्चै त्यो समय कति रमाइलो थियो । अनि आमाबुबाले रातोटीका लगाइदिँदा मलाइ दसैँ आए जस्तै लाग्थ्यो । जब ११÷१२ कक्षा पढ्न थालेँ, त्यो बेला पनि जन्मदिन खास नै लाग्थ्यो । साथीहरूसँग उपहार पनि साटासाट हुन्थ्यो । स्नातक सकिएसँगै जिम्मेवारी थपिए झैँ लाग्न थाल्यो ।
उमेर बढेसँगै केही सपना अधुरा र पूरा गर्न बाँकी रहेको लाग्न थाल्यो । अहिले ‘आज मेरो जन्मदिन’ भनेर कसैलाई भन्न मन लाग्दैन । उमेर बढेर अलिकति लाज पनि लागेको हो कि परिपक्व भएर हो तर फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा जन्मदिन देखाइदिनाले मानिसहरूले ‘डिजिटल विस’ भन्ने गर्छन् । फेसबुकमा कमेन्ट नै नगरी थिचेको भरमा ‘ह्याप्पी बर्थ डे’ लेखिने हुँदा धेरै जनाले जन्मदिनको शुभकामना दिने गर्छन् । कतिले त त्यो पनि गर्दैनन्, गरेनन् भनेर गुनासो पनि लाग्दैन । केही विगतका सम्झना मात्र झल्झली आउँछन् । यही भुमरीको बिचमा जन्मदिन खास लाग्दैन अचेल मलाई । विगतकै जन्मदिन सम्झिन थाल्छु । बाल्यकालमा जन्मदिनको शुभकामना नदिँदा चित्त दुख्ने यो मनलाई कोही नजिकका प्रिय व्यक्तिले जन्मदिनमा नसम्झिए पनि अहिले दुःख लाग्दैन ।
सानो छँदा जन्मदिनमा म जसरी रमाउँथेँ, हिजोआज बालबालिका पनि त्यस्तै भएको देख्छु । रमाइलो त त्यही बेला हुन्छ, जुनबेला न केही काम गर्नु पर्छ, न केही चिन्ता हुन्छ । कहिलेकाहीँ मलाई लाग्छ, यस्तै चलनले हामीले हाम्रो धर्म, संस्कृति, परम्परा बिर्संदै गएका छौँ । केक काट्ने चलन पनि नराम्रो त होइन तर जन्मदिनलगायत विभिन्न शुभकार्यमा हामीले समाजमा नकारात्मक असर पारिरहेका छै । अनगिन्ती सपनाहरू समयसँगै बदलिँदै जाने रहेछन् । जीवन पनि कहिले औँसीको रातको अन्धकार अनि कहिले पूर्णिमाको रातको उज्यालो जस्तै रहेछ । कहिले सुख अनि कहिले दुःख । कहिले हाँसो अनि कहिले खुसी । जे जस्तो भए पनि स्वीकार गर्नेपर्ने रहेछ । ससाना कुराले चसक्क दुख्ने यो मन उमेर बढेसँगै कठिन परिस्थितिसँग सामना गर्न डराउँदो रहेनछ ।
सायद शब्दमा गहिरिएर होला । बाल्यकालमा रमाइलो चुट्किला मनपथ्र्यो आफै लेख्ने पनि गर्थे । अहिले प्रेरणादायी भनाइमा ध्यान जान थालेको छ । साना साना केटाकेटीले मेरो जन्मदिन भन्दै ताली बजाउँछन् । मलाई लाग्छ मेरो जन्मदिनमा म भन्दा उनीहरू खुसी छन् । अहिले कोही नभए पनि हुन्छ जस्तो लाग्छ । चकलेट दिएका ती साथीहरूले अहिले मुस्किलले सम्झिन्छन् तर मेरा बुवा आमाको शुभकामना अनि आशीर्वादमा भने अहिलेसम्म परिवर्तन भएको छैन । भनिन्छ बुवा आमा देउता हुन् । जहिले पनि उहाँहरूको व्यवहार जस्ताको त्यस्तै लाग्छ । न कहिले रिसाउनु हुन्छ न टाढा जानुहुन्छ । प्रीय श्रीमान ज्यु हजुरको मायाँ साथ जति छ, सधै त्यतिनै पाहिरहु भन्ने अपेक्षा गरेकी छु ? घरपरिवारका सासु ससुरा अनि सबैको सधै साथ अनि सपोटको आशा गरेकी छु, भनिन्छ नि दुःख पर्दा जसले साथ दिन्छ ऊ नै सबैभन्दा प्रिय हुन्छ । आफ्नो मनको कुरा सबै भगवानको सामु व्यक्त गरिन्छ ।
त्यसैले मलाई साथी, आफन्त, अभिभावक सबै भगवान् जस्तो लाग्छ । अचेल जन्मदिन मनाउन खासै मन लाग्दैन् । थाहा छैन भगवानले कस्तो आशीर्वाद दिनुहुन्छ । तर मनमा सधैँ उहाँहरू नै हुनुहुन्छ । पहिले पहिले जन्मदिनमा के उपहार पाइयो भनेर साथीहरूसँग सोध्दै हिड्थे । धेरै दिनअघिदेखि जन्मदिन कहिले आउँछ भनेर गन्न थाल्थेँ । जन्मदिन मात्र होइन, त्यो बेला सबै चाडपर्वमा असाध्यै रमाइलो लाग्थ्यो । जिन्दगीको दौडमा यी सबै खुसी बिस्तारै हराउँदै जाने रहेछ । तर जन्मदिन मात्रै नभई सँघै यसरी नै तपाँहरु सबैको सकरात्मक सुुझाव, सल्लाह सहित हौसलाको अपेक्षा छ ।