- बैशाख ३१, २०८३
- No Comment
- 2
उत्तर प्रदेशमा आँधीका कारण ५६ जनाको मृत्यु

काठमाडौं : भारतको उत्तर प्रदेशमा गएराति आएको भीषण आँधी र वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। आँधीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। प्रयागराजमा १६ जनाको मृत्यु भएको छ भने भदोहीमा १५ र मिर्जापुरमा १० जनाले ज्यान गुमाएका छन्।
भदोहीमा मात्रै ८ जना गम्भीर घाइते भएको जनाइएको छ। तीमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि वाराणसी पठाइएको छ।
तीव्र गतिको हावाहुरीका कारण सयौँ रुख उखेलिएका छन् भने विद्युत्का पोल ढलेका छन्। साथै, कच्ची घरहरू भत्किँदा धेरै मानिसको मृत्यु भएको बताइएको छ। अधिकांशको ज्यान घरको पर्खाल भत्केर वा रुखले किचिएर गएको अधिकारीहरूले बताएका छन्।
आँधीका कारण पशुचौपायामा समेत ठूलो क्षति पुगेको छ। भदोही जिल्लामा मात्रै १६ भन्दा बढी गाईवस्तु मरेका छन्।
उत्तर प्रदेशका मुख्यमन्त्री Yogi Adityanath ले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तत्काल राहत रकम उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
आँधीपछि धेरै क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ भने राहत तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। मौसम प्रतिकूल रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।


