- माघ १७, २०८१
- No Comment
- 12
महाकुम्भमा भागदौड: कम्तीमा ३० जनाको मृत्यु, ६० जना घाइते

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा बुधबार बिहानै भएको भागदौडमा कम्तीमा ३० जनाले ज्यान गुमाएका छन् । भने ६० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको महाकुम्भका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वैभव कृष्णलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स्ले जनाएको छ ।
भागदौड बुधबार बिहानै भए पनि भारतीय अधिकारीहरूले साँझमात्रै ज्यान गुमाउनेको संख्याबारे आधिकारिक जानकारी दिएका हुन् ।कुम्भमेलाका अवसरमा श्रद्धालुहरूले भारतका सबैभन्दा पवित्र मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् । पवित्र नदीहरूको संगममा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । बुधबार मौनी अमावास्य अर्थात् माघ कृष्ण औंसीका अवसरमा हुन लागेको ‘अमृतस्नान’ का बेला भागदौड भएको हो ।
केही तीर्थयात्री प्रहरीले राखेका छेकबार नाघेर संगमतिर जान खोजेपछि बुधबार बिहान १ देखि २ बजेका बीचमा घटना भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् । बुधबार ८ करोडले स्नान गरेको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको दाबी छ । अधिकारीहरूका अनुसार बिहान ८ बजेसम्ममा ३ करोडले स्नान गरिसकेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत समवेदना दिएका छन् । ‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद छ । यसमा आफ्ना प्रियजन गुमाउने श्रद्धालुप्रति म गहिरो समवेदना व्यक्त गर्छु,’ मोदीले लेखेका छन् । घटनाबारे आफू राज्य सरकारसँग सम्पर्कमा रहेको उनको भनाइ छ ।