• पुस १८, २०८१
  • No Comment
  • 98

आइसिसी यू–१९ महिला विश्वकपमा नेपाल, अस्ट्रेलिया र बंगलादेश, स्कटल्यान्ड भिड्दै

पहिलोपटक आइसिसी यू–१९ महिला विश्वकप खेल्न लागेको नेपालले समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डविरुद्ध खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार ५ माघमा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । मलेसियामा ५ माघबाट सुरु हुने विश्वकपमा नेपालले विश्व क्रिकेटकै अनुभवी राष्ट्र अस्ट्रेलिया र बंगलादेशसँगै स्कटल्यान्डसँगको प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय एक्सपोजर मात्र नभएर गतिलो नतिजा निकाल्ने लक्ष्य राखेको छ । नेपालले ७ माघमा स्कटल्यान्डको सामना गर्नेछ ।

समूह चरणको अन्तिम खेल ९ माघमा नेपालले उपाधि दाबेदार अस्ट्रेलियाको सामना गर्ने आइसिसीले जनाएको छ । आइसिसीले मलेसियाको बांगी मैदानमा आयोजना गर्न लागेको विश्वकप दोस्रो संस्करण हो । पुरुष विश्वकप ९० को दशकबाट आइसिसीले सुरु गरेको थियो । आइसिसीले महिला खेलाडीलाई पनि उमेर समूहदेखि नै एक्सपोजर दिनुपर्ने जनाउँदै यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता २०२३ देखि आयोजना गरेको हो । पहिलो संस्करणमा २० टोलीले प्रतिस्पर्धा गरेका थिए । दक्षिण अफ्रिकाको सेनवेस पार्कमा भएको फाइनलमा भारतले इंग्ल्यान्डमाथि सात विकेटको जित निकाली विश्वकप उपाधि उचाल्यो ।

दोस्रो संस्करणमा चार नयाँ राष्ट्र
आइसिसीले दोस्रो संस्करणमा थप चार कोटा थपेको छ । आयोजक राष्ट्रका रूपमा मलेसिया सुरुमै छनोट भयो । नेपाल, नाइजेरिया र सामोआले छनोट चरण पारी गरी विश्वकपमा स्थान बनाएका हुन्‌ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आयोजनामा आगामी ५ माघदेखि यू–१९ महिला विश्वकप हुन लागेको हो । २० माघसम्म सञ्चालन हुने विश्वकपको दोस्रो संस्करणमा नेपालसहित १६ देशले सहभागिता जनाउँदै छन्‌ । नेपालले गत नोभेम्बरमा युएईलाई एसिया कप छनोटको अन्तिम खेलमा चार विकेटले हराउँदै मलेसियामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको थियो । राउन्ड रोबिन लिगमा नेपालले सर्वाधिक अंक बटुलेको थियो ।

सुपर सिक्समा पुग्ने अवसर
आइसिसीले सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरेको छ । आइसिसीले ग्रुप १ को ‘ए’ र ‘डी’ समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने जनाएको छ । नेपालले एक जित निकाल्दा पनि सुपर सिक्समा पुग्ने सम्भावना छ । सुपर सिक्सका दुवै ग्रुपका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्‌ । दुई सेमिफाइनलका विजेताबिच २० माघमा उपाधि भिडन्त हुनेछ ।

यस्ता छन् अनुभवी प्रतिस्पर्धी

बंगलादेश (खेल ५ माघमा)
बंगलादेशको यू–१९ महिला टोली निर्माण सन् २०२३ मा भएको थियो । टेस्ट राष्ट्र भएकाले बंगलादेशले लगातार दोस्रोपटक यू–१९ विश्वकपमा सहजै स्थान सुरक्षित गर्‍यो । गत संस्करणमा बंगलादेश सुपर सिक्ससम्म पुगेको थियो । यस टोलीले अहिलेसम्म १५ अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा ११ जित र चार खेलमा हार सामना गरेको छ । बंगलादेशले श्रीलंकालाई चार र पाकिस्तानलाई दुईपटक हराएको छ । भारतसँग दुई खेलमा पराजित भएको बंगलादेशले श्रीलंका र दक्षिण अफ्रिकालाई नतिजा सुम्पिएको छ ।

स्कटल्यान्ड (खेल ७ माघमा)
युरोपियन छनोटबाट लगातार दोस्रोपटक स्कटल्यान्डले विश्वकपमा स्थान बनाएको हो । युरोपको छनोटमा स्कटल्यान्डले विश्वकपको टिकट पक्का गर्न नेदरल्यान्ड्समाथि ३–० को जित निकालेको थियो । गत संस्करणमा स्कटल्यान्ड पहिलो चरणबाटै बाहिरिएको थियो । यस महिला टोलीले अहिलेसम्म विश्वकपबाहेक चार अन्तर्राष्ट्रिय खेलमा एक जित मात्र हात पारेको छ । भारत र दक्षिण अफ्रिकासँग समान एक खेल खेल्दा स्कटल्यान्डले हारको सामना गरेको छ ।

अस्ट्रेलिया (खेल ९ माघमा)
सन् २००३ मा अस्ट्रेलियन क्रिकेट संघले महिलातर्फ उमेर समूहको विकास गर्ने गरी यू–१९ महिला टोली स्थापना गरेको थियो । टेस्ट राष्ट्र भएकाले अस्ट्रेलियाले आइसिसीबाट आयोजना गर्ने सबै किसिमका अन्तर्राष्ट्रिय खेलमा सहजै स्थान बनाएको छ । सन् २०२२ मा अस्ट्रेलियाले यू–१९ विश्वकपको पहिलो संस्करणमा भाग लिन साराह अलेयलाई कप्तानीको जिम्मेवारी दिएको थियो । दक्षिण अफ्रिकामा सम्पन्न भएको पहिलो संस्करणको सेमिफाइनलमा अस्ट्रेलिया इंग्ल्यान्डसँग ३ रनले स्तब्ध भएको थियो । यस टोलीले सन् २०२४ को वर्षमा ६ अन्तर्राष्ट्रिय खेलमा सहभागी हुँदा चारमा जित र दुईमा हारको सामना गरेको थियो । उमेर समूहको यस टोलीले अहिलेसम्म आइसिसीको पूर्णकालीन सदस्यमा बंगलादेश र इंग्ल्यान्डविरुद्धको समान एक खेल गुमाएको छ ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *