- मंसिर १२, २०८१
- No Comment
- 28
जाडो मौसममा हृदयघातको जोखिम किन बढ्छ ?
जाडो मौसममा शरीरका नशाहरू र रगतका नलीहरू खुम्चिने गर्छन् । जसका कारण उच्च रक्तचाप वा ब्लडप्रेसर बढ्ने गर्दछ । ब्लड प्रेसर बढेपछि मुटुलाई भार पर्छ । रगतहरूको नशाहरू बढ्ने र नशाहरू ब्लक हुने सम्भावना हुन्छ । उच्च रक्तचाप बढेका कारण, मुटुलाई भार परेका कारण ब्लडको नशाहरू स्टिक भएर ब्लक हुने सम्भावना हुन्छ । जसका कारण जाडो मौसममा हृदयघात हुने गर्दछ ।
मुटुको समस्या जोकोहीलाई हुनेगर्छ । उमेर पुगेका व्यक्तिहरूलाई बढी समस्या देखिन्छ । मुटुमा समस्या देखिनुको पनि विभिन्न रिक्स फ्याक्टरहरू हुन्छन् ।
जस्तैः मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोलको लेबल हुनु रिक्स फ्याक्टरका हुन् । यसो हुँदा रगतका नशाहरूमा कोलेस्ट्रोलको लेदोहरू जम्ने खतरा रहन्छ । यस्तो समस्या आउँदा प्यारालाइसिस हुने र मुटुको रगतहरू बन्द भएर हृदयघात हुने गर्दछ ।
अहिले नेपालमा योङ्गर मान्छेहरूमा पनि यस्ता समस्याहरू देखिन थालेका छन् । अधिक धुम्रपान वा मध्यपान गर्ने युवाहरू यसको शिकार भइरहेका छन् । अस्वस्थ खानपान, अस्तव्यस्त जीवनशैलीका कारणले गर्दा मुटुमा समस्या बढ्दो छ ।
नियमित व्यायाम नगर्ने, जङ्कफूड बढी खाने बानीले युवा अवस्थामा पनि हृदयघात हुनसक्छ । तर कुनै कुनै बच्चामा जन्मजातै मुटुमा समस्या देखिने गरेको पाइन्छ । साथसाथै बाथका कारण मुटुरोग बच्चादेखि १५ वर्ष उमेर समूह र पछिसम्मै देखापर्ने गर्छ । संसारभरीको सबैभन्दा बढी हुने रोग भनेको मुटुको धमनीसँग सम्बन्धित रोग हो । यो युवा अवस्थामा बढी देखा परिरहेको छ ।
हृदयघातको कुरा गर्दा महिला भन्दा पुरुषलाई बढी हुने गरेको तथ्याङ्क नै छ । महिला भन्दा पुरूषमा रिक्स बढी हुन्छ । परिवारमा कसैलाई हृदयघात भएको छ भने त्यो वंशाणुगत गुणसमेत हुने गर्दछ । साथसाथै महिलाहरूमा हेर्दाखेरी जुन पोष्ट मिन्सुरेसन हुन्छ त्यो उमेर पुगेसँगै उत्तिकै रिक्स ल्याउँछ । उमेरको समय हेर्दाखेरी चाँही जुन हृदयघातहरू महिला भन्दा पुरूषमा बढी हुने गरेको तथ्यांकहरूले देखाउँछ ।
जाडो महिनामा कसैको मुटुको नशाहरू ब्लक छ र कसैलाई ब्लडप्रेसर छ भने चाँही समस्या आउँछ । हृदयघात बढाउने गर्छ । चिसोले ब्लड प्रेसर बढाउने, नशाहरू ब्लक गर्ने र बढाउने कारणले जोखिम बढी हुन्छ । जाडो महिनामा कोल्ड टेम्प्रेचरले शरीरमा जुन प्रवाहहरू गर्छ त्यो कम गर्नुपर्दछ ।
मर्निङवाकमा सचेत
मर्निङवाक गर्दा बाहिर आउटअफ गर्दाखेरी चिसोले धेरै समाउँछ । चिसोले समातेको खण्डमा दुई तीनवटा कुराहरू हुन्छन् । चिसो हावा सिंधै प्रवेश गर्दा फोक्सोको हावाको नलीहरू बन्द भएर घाँटी दुखाइ बढ्न सक्छ । साथसाथै चिसोले गर्दा मुटुको धमनीहरू र रगतका नशाहरू खुम्चिने गर्छन् ।
नशाहरू खुम्चिएकै कारणले ब्लडप्रेसर बढ्छ । ब्लडप्रेसर बढ्दा अगाडिबाटै मुटुका रोगीहरू छन् भने उनीहरूलाई अझै धेरै समस्या बनाउँछ । जाडोका कारण विभिन्न हर्मनहरू निस्किएर मुटुलाई भारपर्ने हुन्छ । बाहिर जाँदा सकेसम्म मुटुरोगीका बिरामीहरूले जाडो मौसममा मर्निङवाकहरू कम गर्नुपर्छ ।
जोगिने उपाय
मुटुरोगबाट बच्नको लागि परिवर्तन गर्न सकिने र परिवर्तन गर्न नसकिने दुईवटा कारणहरू छन् । परिवर्तन गर्न सकिने कुराहरू धेरै छन् । परिवर्तन गर्न नसकिने वंशाणुगत गुण हो । त्यसलाई परिवर्तन गर्न सक्दैनौँ । तर मुटुरोगबाट बच्नको लागि परिवर्तन तत्वहरू उच्च रक्तचाप, मधुमेह, डाइबिटिज, उच्च कोलेस्ट्रोलको लेबल, स्वस्थ जीवन, अस्वस्थ्य खानपान, मेन्टल स्ट्रेस वा तनावहरू जस्ता समस्याहरूलाई कन्ट्रोल गर्नुपर्छ ।
युवा अवस्थामा मुटु सम्बन्धि समस्या देखिनुको कारण भनेको धुम्रपान र मध्यपानले गर्दा हो । धुम्रपान र मध्यपाका कारण युवा अवस्थामा हृदयघात भइरहेको हुन्छ । त्यसकारण जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ । दैनिक व्यायम गर्नुपर्छ । खानपानमा चिल्लो पदार्थ कम गर्नुपर्छ । ठिक्क मात्रामा नुनको प्रयोग गर्नुपर्छ । सकेसम्म हरियो सागपातलाई बढाउन सकेमात्र मुटुरोगलाई रोक्न सकिन्छ ।
हृदयघातको सङ्केत
हृदयघातको सङ्केत विभिन्न हुनसक्छन् । स्वाँस्वाँ बढी हुनु, खुट्टाहरू सुनिनु, अग्लो सिरानी राखेर सुत्नुपर्ने वाध्यता, उकालो हिड्दा श्वास बढ्नु, तत्कालै बेहोस हुने समस्या देखिनु, छातीमा दुखाई बढी हुनु हृदयघातका प्रारम्भिक सङ्केतहरू हुन् ।
यस्तो खालको समस्या छ भने तत्कालै समाधान खोज्नुपर्छ । सकेसम्म डाक्टरको परामर्श लिनुपर्छ । जुन व्यक्तिमा बढी खतरा वा यस्ता सङ्केतहरू देखिन्छन । जाँच गरिहाल्नुपर्छ । उमेर पुगेका, सुगर, प्रेसर, कोलेस्ट्रोल भएका बिरामीहरूले तत्कालै डाक्टरको परामर्श लिएको राम्रो हुन्छ । सुगर, प्रेसर, कोलेस्ट्रोललाई नियन्त्रण गर्नेतर्फ र धुम्रपान छाड्न सक्नुपर्छ । खानपानमा ध्यान दिनुपर्छ ।
खानपानमा ध्यान
मुटुको समस्याबाट बच्नका लागि खानपान नै मुख्य कुरा हो । स्वस्थ्यकर खानेकुरा बढी मात्रामा सेवन गर्नुपर्छ । बदाम, एभोकाडो जस्ता खानेकुरामा धेरै किसिमका तत्त्वहरू हुने भएकाले प्रेसर कम गर्न सहयोग पुर्याउँछ । स्वस्थ खानेकुरा भनेको हामीलाई चाहिने जति खाने हो, किनभने हामीले धेरै क्यालोरी खाने भन्छाँै । तर त्यसोमात्र होइन । धेरै चिनी र नुन भएको खानेकुरा सेवनमा कम गर्नुपर्छ ।
हाम्रो शरीरमा भात धेरै हुन्छ तर सागसब्जी कम हुन्छ । त्यसकारण धेरै सागहरू खाने र कम भात खाने गर्नुपर्छ । यसका साथै धेरै चिल्लो कुरा नखाने, धेरै बोसो भएको खाने कुरा नखाने गर्दा राम्रो हुन्छ । सबैभन्दा महत्त्वपूणर् कुरा भनेको ट्रान्सफ्याट जिरो हुनुपर्छ । चामल कम गर्ने, सागसब्जीको मात्रा बढाउने गर्दा राम्रो हुन्छ ।
चिसो मौसममा निमोनिया हुने कुरा भन्दा पनि मौसम परिवर्तन हुनेबेला धेरै भाइरसहरू आउने गर्छ । त्यस्तोबेला भाइरल निमोनिया बढ्ने गर्छ । चिसो मौसममा बढी गरेर दिर्घकालिन रोग भएका बिरामीहरूलाई इन्फेक्सनको मात्रा बढ्छ । यस्तोबेला बिरामीहरूले न्यानो भएर बस्नुपर्छ । बाहिरको काम कम गर्ने यसको साथै भाइरसहरूबाट बच्न भ्याक्सिनेशन गर्नुपर्छ । यसले गर्दा जाडोमा निमोनियाबाट बच्न सजिलो हुन्छ ।
नेपालमा धेरैजसो मुटु रोगको उपचार हुन्छ । जस्तै मुटुको इसीजी, इको, विभिन्न खालको टेस्टहरू सबै कुरा हुन्छन् । साथै मुटुको नसा ब्लक भएको छ कि हेर्ने, मुटुको नसा खोल्ने प्रविधि पनि छ ।
ओपन हार्टसर्जरी पनि हुन्छ र जन्मजात मुटुको प्वाँलहरू टाल्नको लागि आवश्यक डिभाइसहरू पनि उपलब्ध छन् । मुटुको भल्भहरू बिग्रियो फेर्नुपर्यो, जन्मजात नै मुटुको अपरेशन गर्नुपर्यो भने यो सबै काम नेपालमा सम्भव छ ।
नेपालमा अहिलेसम्म नभएको भनेको हार्ट ट्रान्सप्लान्टेशन हो । यो नेपालमा भएको छैन् । लगभग नेपालमा अरु कुरा र नयाँ आएको प्रवृत्तिको एक दुईवटा मात्र नेपालमा आएको छैन् । त्यो बाहेक अरु सबै उपचार नेपालमा सम्भव छ ।
मुटुको क्षेत्रमा सरकारले गरेको भनेको विपन्नका लागि एक लाख रुपैयाँ हो । मुटुको भल्भ फेर्ने, एन्जियोप्लास्टी गर्ने, मुटुमा ब्याट्री हाल्ने, सबै समस्याहरूका लागि सरकारले एक लाख रूपैयाँको सुविधा दिएको छ । आफ्नो सिफारिस दिएमा एक लाखको सुविधा आउँछ जुन राम्रो काम हो ।
१५ वर्ष मुनिका बच्चाहरूको उपचारका लागि जुन स्किमहरू छन् त्यसबाट बच्चाहरूको सम्पूणर् उपचार नेपालका अस्पतालमा हुनेगर्छ । जस्तै गंगालाल, मनमोहन जस्ता अस्पतालमा निःशुल्क उपचार हुन्छ । भल्भ प्रोग्रामहरूबाट भल्भ बिग्रिएको उपचार पनि निशुल्क रूपमा भइरहेको छ । यसको लागि विपन्नबाट एक लाख, बिमाबाट एक लाख सहुलियतमा उपचार भइरहेको छ । तर सबै ठाँउमा लागू भएको छैन् । केन्द्रमा भन्दा पनि दुरदराजमा यसको पहुँच हुने हो भने राम्रो हुन्छ ।
सरकारले अहिले क्याथल्याबको व्यवस्थाहरू विभिन्न सेन्टरमा गरिरहेको छ । क्याथल्याबको व्यवस्था सम्पूणर् ठाउँमा पु-याउनुपर्छ । यस्तै जिल्ला अस्पतालमा पनि मुटु रोगको उपचार कसरी दिने भनेर तालिमहरू भइरहेका छन् । हृदयघात हुने वित्तिकै बिरामी क्याथल्याबमा पुग्दैनन् ।
कतिपय ठाँउमा आउँदा आउँदै समय लाग्छ । हृदयघात भयो भने मुटु बचाउनका लागि तत्काल नै नसाहरूलाई खोल्ने औषधिहरू बजारमा पाइन्छ । जसलाई हामी थ्रोम्बोलाइटिक थेरापी पनि भन्छौ । हृदयघात रोगको उपचारमा थ्रोम्बोलाइटिक (टिएनके) थेरापीचाँही जिल्लाहरूतिर पनि उपलब्ध गराउनसक्नुपर्छ ।
मुटुको समस्याहरूबारे जनचेतना फैलाउन सरकारले सकेको छैन् । विद्यालय र समूदायस्तरमा चेतनामुलक कार्यक्रमहरू लैजानुपर्छ । मुटु रोग अझै खर्चिलो भएको कारणले यस्तो हृदयघातको उपचारको कुरामा खर्चचाँही सरकारबाट सहायता भए कसैले उपचारबाट बन्चित हुनु पर्ने थिएन् । विशेषगरी धुम्रपान मद्यपानको सेवनले मुटु सम्बन्धि रोग लाग्छ । त्यसैले यसको ट्याक्समा लाग्ने पैसा मुटु रोगको उपचार खर्चमा लगाइदिँदा राम्रो हुन्छ ।