• असार २५, २०८१
  • No Comment
  • 198

पहिरोमा पुरिएर उदयपुरमा थप एक बालिकाकाे मृत्यु

अविरल वर्षापछिको बाढीले उदयपुरमा थप एक बालिकाको ज्यान गएको छ। सोमबार रातभर परेको अविरल वर्षाले मंगलबार बिहान घर नजिकै गएको पहिरोमा पुरिएर गम्भीर घाइते भएकी त्रियुगा नगरपालिका-१५, खाँबु तोरीबारीकी ९ वर्षीया पूर्णकला मगरको मृत्यु भएको छ।

वडाध्यक्ष गणेश तिम्सिनाका अनुसार, घरछेउमै गएको पहिरोले पुरेर गम्भीर घाइते भएकी पूर्णकलालाई उपचारका लागि गाईघाट लैजाँदै गर्दा बाटोमै निधन भएको हो।

साथै, बालिकाकी आमा हीरा मगर पनि पहिरोले पुरिएर घाइते भएकी छिन् र उनलाई सदरमुकामस्थित उदयपुर जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ।

यसअघि बाढीले बगाएर बालकसहित दुई जनाको ज्यान गइसकेको छ। जिल्लाको रौतामाई गाउँपालिका-५ स्थित अमृत खोलाको बाढीले बगाउँदा स्थानीय ५ वर्षीय राज राईको असार २३ गते निधन भएको थियो।

त्यसैगरी, बेलका नगरपालिका-३, सातपत्रेस्थित गिनेरी खोलाले बगाएर असार २२ गते बेपत्ता भएका इन्द्र बुढाथोकीको शव अघिल्लो दिन मात्र फेला परेको थियो।

सदरमुकाम बाढीको उच्च जोखिममा

यता सदरमुकाम गाईघाट बाढीको उच्च जोखिममा परेको छ। झण्डै सातादिनयता भइरहेको अविरल वर्षाले बजारको उत्तरपूर्व भएर बग्ने बरुवा खोलामा आएको बाढीले बाँध भत्काउन लागेपछि पुरै बजार जोखिममा परेको हो।

बरुवा खोलामा उर्लेको बाढीले बजार क्षेत्र ओगटेको त्रियुगा नगरपालिका-११ र १२ नं. वडालाई बचाउन बाँधेको बाँध भत्काउँदै कटान गर्न थालेपछि जोखिम बढेको हो।

बाढीले त्रियुगा-११ नं. वडा ढिम्कीस्थित चप्पन सामुदायिक वन उपभोक्ता समूहको वनभोजस्थल आसपास ५० मिटर बाँध भत्काएर कटान गरिसकेको छ।

रातभरिको वर्षाले उर्लेको बाढीले बिहानदेखि कटान हुन थालेको खबर पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ।

तीनै अङ्गका गरी १ सय २० जना सुरक्षाकर्मी टोली परिचालन गरी भत्केको बाँधका पुनः निर्माण थालिएको छ। बिहान ९ः०० बजेदेखि सुरु बाँध पुनः निर्माण कार्यले अहिलेसम्म १५ मिटर बाँध बाँधिसकेको घटनास्थलमै रहेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन चापागाईंले बताए।

चापागाईंका अनुसार वर्षौँअधि बाँधेको बाँध बाढीले भत्काउँदै रुख बिरुवा ढाल्दै गएपछि वनभोजस्थल भएर बाढी गाईंघाट बजार पस्ने खतरा बढेको छ। भत्केको ठाउँमा समयमै बाँध पुनः निर्माण नगरे पुरै बजार उच्च जोखिममा पर्ने बजारवासीको माग छ। गत वर्ष पनि सोही ठाउँमा बाढीले बाँध भत्काउन लागेपछि सुरक्षाकर्मीकाे सहयाेगमा रातारात पुनः निर्माण गरिएकाे थियाे।

यस वर्ष पनि सोही ठाउँमा बाँध फुटाउन थालेकाले बाढी कुनै पनि बेला बजार पस्न सक्ने खतरा रहेको भन्दै स्थानीयहरूले भत्केको बाँध तत्काल पुनः निर्माण गर्नुपर्ने खाँचो औँल्याएका छन्। बर्सेनि एउटै ठाउँमा बाढीले बाँध भत्काउन खोज्दा पनि स्थायी र दीर्घकालीन रूपको निकास निकाल्न नसकेकोमा बजारवासीको गुनासो छ।

स्थानीय तह, प्रदेश र संघीय सरकार तीनैतहको सहयोग जुटाएर दीर्घकालीन समाधान हुने खालको बाँध निर्माण गर्नुपर्ने बजारवासीको माग छ। हरेक वर्ष वर्षायाममा त्राहीत्राही भएर बस्नुपर्ने समस्याको स्थायी अन्त्य गर्न सबैको पहल जरुरी रहेको गाईंघाटका पूर्व वडाध्यक्ष विदुर राउत बताउँछन्।

त्रियुगा नगरपालिका-१० बोक्से सिमलटारदेखि ढिम्की वजभोजस्थल हुँदै त्रियुगा नदीसम्म जोडिने त्रिबेणीसम्म लगभग ५ किलोमिटर बाँध स्थायीरुपमा बाँध्न सके गाईघाट बजार सुरक्षित हुने स्थानीयहरु बताउँछन्।

संघ, प्रदेश र नगरपालिका मिलेर गर्न चाहे गाईघाट मात्र नभएर दुईतर्फी बाँध निर्माण गर्न सक्ने तर, चासो नभएर यस्तो समस्या बर्सेनि बेहोर्नुपर्ने गुनासो बजारबासी विष्णु राईको छ।

त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले हाललाई तत्कालीन जोखिमबाट बाच्न सुरक्षाकर्मीको सहयोगमा बाँध मर्मत गर्ने काम भइरहेको बताए। बरुवा बाढीको दीर्घकालीन समाधानका लागि आगामी आर्थिक वर्ष प्रदेश र संघीय सरकारसँग बजेट माग्ने र नगरपालिकाले पनि सक्दो बजेट व्यवस्था गरेर लागी पर्ने मेयर बस्नेतले बताए।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *