
सुर्खेत । कर्णाली प्रदेशका मुख्य मन्त्री यामलाल कँडेल ले निर्माणाधीन प्रदेश रङ्गशालाको काम शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई ध्यानमा राख्दै निर्माण कार्यमा ढिलाइ नगर्न जोड दिएका हुन्।
मुख्यमन्त्री कँडेलले रङ्गशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन भइसकेको उल्लेख गर्दै बाँकी काममा कुनै बहाना स्वीकार्य नहुने स्पष्ट पारे। उनले निर्माण व्यवसायी तथा सम्बन्धित निकायलाई समन्वय गर्दै तोकिएको कार्यतालिका अनुसार काम अघि बढाउन निर्देशन दिए।
“अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन, सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ,” उनले बताए।
उनले निर्माण कार्यको प्रभावकारी अनुगमन, समन्वय र जिम्मेवार निकायको सक्रिय भूमिकामा विशेष जोड दिएका छन्। रङ्गशाला सम्पन्न भएपछि कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार हुने र नयाँ अवसर सिर्जना हुने विश्वास उनले व्यक्त गरे।
मुख्यमन्त्री कँडेलले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि योजना आवश्यक रहेको बताउँदै खेलाडीको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षण, पूर्वाधार निर्माण तथा प्रतियोगिताको निरन्तर आयोजनामा ध्यान दिनुपर्ने बताए।
त्यसैगरी, उनले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आवश्यक पूर्वाधार, खेलमैदान, आवास तथा व्यवस्थापनका काम समयमै सुनिश्चित गर्न निर्देशन दिएका छन्। कर्णालीका विभिन्न जिल्लामा खेल पूर्वाधार निर्माणका लागि स्पष्ट योजना, लागत अनुमान र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेश गर्न पनि उनले सम्बन्धित निकायलाई आग्रह गरे।
बैठकमा परिषद्का पदाधिकारीहरूले निर्माणाधीन रङ्गशालाको प्रगति, चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए। सहभागीहरूले समन्वय, स्रोत व्यवस्थापन र प्रभावकारी अनुगमनमार्फत निर्माण कार्यलाई तीव्रता दिन सकिने धारणा व्यक्त गरेका थिए।



