
काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत आज हुने सेमिफाइनल खेलमा नेपालले इरानको सामना गर्ने भएको छ।
नेपाल र इरानबीचको खेल साँझ ५ बजेदेखि दशरथ रंगशालास्थित कभर्ड हलमा हुनेछ। यसअघि आजै दिउँसो साढे २ बजे पहिलो सेमिफाइनलमा भारत र काजकिस्तान भिड्नेछन्।
समूह चरणमा पुल ‘ए’ मा रहेको नेपाल दुई खेलमा जित निकाल्दै ७ अंकसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको हो। इरान भने पुल ‘बी’ मा लगातार तीनै खेल जित्दै अन्तिम चारमा पुगेको हो।
प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, माल्दिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश सहभागी छन्। नेपाल समूह चरणमा भारत, किर्गिस्तान र माल्दिभ्ससँग एउटै समूहमा रहेको थियो।
प्रतियोगिताका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। टोलीमा उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन्।



