
काठमाडौं। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ संशोधनसहित पारित गरेको छ।
समितिको बैठकले सांसदहरूले दिएका संशोधन र छलफलका क्रममा उठेका सुझाव समेटेर विधेयकको प्रतिवेदन पारित गर्ने निर्णय गरेको हो। समितिका सचिव दशरथ धमलाका अनुसार अब पारित प्रतिवेदन प्रतिनिधिसभाको बैठकमा पेस गरिनेछ।
विधेयकमा गम्भीर अपराधको न्याय निरुपणका लागि विश्वसनीय परीक्षण, अपराध वर्गीकरण तथा अनुसन्धानको व्यवस्था गर्न प्रस्ताव गरिएको छ। प्रविधिमा आधारित अपराध बढ्दै गएकाले जैविक र भौतिक परीक्षणसँगै डिजिटल अपराधको परीक्षण तथा अनुसन्धानलाई समेत प्रभावकारी बनाउने विषय समेटिएको छ।
समितिले नमुना परीक्षणमा हुने ढिलाइ अन्त्य गर्न आवश्यक जनशक्ति र प्रयोगशाला पूर्वाधारको व्यवस्था कानुनमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। यसअघि राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पठाइएको उक्त विधेयक अब प्रतिनिधिसभामा छलफलका लागि पेस हुनेछ।



