
सुर्खेत– सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माले दायर गरेको रिट खारेज गरेसँगै उनी प्रदेशसभा सदस्य पदबाट पदमुक्त भएका छन्। न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार रिट खारेज गर्दै शर्मालाई पदमुक्त गर्ने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को निर्णय सदर गरेको हो।
नेकपाले शर्मामाथि पार्टीको उम्मेदवारविरुद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारको प्रचारमा लागेको आरोप लगाउँदै प्रदेशसभा सदस्य पदबाट हटाउन प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो। त्यसविरुद्ध शर्मा सर्वोच्च पुगेका थिए। यसअघि सर्वोच्चले अन्तरिम आदेशमार्फत उनलाई सांसदका रूपमा काम गर्न दिएको थियो। रिट खारेज भएपछि उनको प्रदेशसभा सदस्य पद औपचारिक रूपमा समाप्त भएको हो।



