
खाँडाचक्र नगरपालिका-३ ताडीस्थित करोडौं लागतमा निर्माण भएर विगत ५ वर्षदेखि बेवारिसे बनेको बसपार्क सञ्चालनमा ल्याउने तयारी गरिएको छ। नगर प्रमुख कमल बहादुर शाहीको पहल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा नम्बर ३ को सहकार्यमा केही दिनभित्रै बसपार्कमा मर्मत तथा सुधारका काम सुरु हुने भएको छ।
लामो समयसम्म प्रयोगविहीन रहेको उक्त बसपार्कलाई सञ्चालनमा ल्याउन नगरपालिकाले ३ बुँदे योजना अगाडि सारेको छ। योजना अनुसार बसपार्कका मुख्य पर्खाल, यात्री प्रतीक्षालय, टिकट काउन्टर र शौचालयमा रंगरोगन गरिनेछ भने भित्तामा कर्णाली सभ्यताको चित्रकला बनाइनेछ। यसैगरी, भत्किएको कम्पाउण्ड पर्खाल, चुहिएको छाना, खानेपानी, विद्युत् लाइनको मर्मतसम्भार गर्नुका साथै फलामे बेन्च र डस्टबिन राखिनेछ।
सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै बसपार्कको चारै कुनामा उच्च क्षमताको सीसीटीभी क्यामेरा र रात्रिकालीन समयका लागि हाइ मास्ट बत्ती जडान गरिनेछ। जडित क्यामेराको प्रत्यक्ष निगरानी नगरपालिकाको कार्यकक्षबाटै हुने जनाइएको छ।
यस अभियान अन्तर्गत रास्वपा वडा नम्बर ३ का सभापतिले स्थानीय युवाहरूलाई परिचालन गरी श्रमदान र खबरदारी गर्ने प्रतिबद्धता जनाएका छन्। नगरपालिका र राजनीतिक दलको सहकार्यमा अघि बढाइएको यस कार्यप्रति स्थानीय यातायात व्यवसायी तथा व्यापारीहरूले स्वागत गरेका छन्। बसपार्क सञ्चालनमा आएपछि ताडी बजारको धुलो र जामको समस्या हटेर यात्रुले पाउने सास्ती अन्त्य हुने उनीहरूको भनाइ छ।
नगर प्रमुख कमल बहादुर शाहीले आगामी केही दिनभित्रै काम सुरु गरी एक महिनाभित्र बसपार्क पूर्ण रूपमा सञ्चालनमा ल्याइने जानकारी दिएका छन्।



