
काठमाडौं। देशभर भइरहेको अविरल वर्षाका कारण मौसम प्रतिकूल हुँदा विशेषगरी दुर्गम, पहाडी तथा हिमाली क्षेत्रतर्फका आन्तरिक हवाई उडान प्रभावित भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने लुक्ला, भोजपुर, फाप्लु तथा विभिन्न हिमाली क्षेत्रका उडान प्रभावित भएका छन्। यति एयरलाइन्सको माउन्टेन फ्लाइट, सीता एयरको लुक्ला उडान, बुद्ध एयर र श्री एयरलाइन्सका माउन्टेन फ्लाइट तथा नेपाल एयरलाइन्सको भोजपुर उडान रद्द भएका छन्।
त्यस्तै पोखरा र भरतपुरतर्फका उडानमा पनि ढिलाइ भएको विमानस्थलले जनाएको छ। लुक्ला र फाप्लुतर्फका उडानसमेत मौसमका कारण प्रभावित छन्।
काठमाडौंलाई देशका विभिन्न स्थानसँग जोड्ने ट्रंक रुटका उडान भने ढिलाइ भए पनि सञ्चालनमा रहेका छन्। प्रतिकूल मौसमका कारण उडान प्रभावित भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको भिड लागेको छ।
अन्तर्राष्ट्रिय उडानतर्फ भने हालसम्म मौसमका कारण कुनै उल्लेखनीय अवरोध देखिएको छैन। बिहानदेखि १० वटा अन्तर्राष्ट्रिय जहाज अवतरण र ९ वटा उडान सम्पन्न भएका छन्।



