
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सडक किनारमा अचेत अवस्थामा भेटिएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
कृष्णपुर नगरपालिका–२, बङ्क निवासी २७ वर्षीय महेश धामी आइतबार राति बेलडाँडी गाउँपालिका–२, क्याम नजिक सडक किनारमा अचेत अवस्थामा फेला परेका थिए। स्थानीय बासिन्दाले उनलाई अचेत अवस्थामा देखेपछि उद्धार गरी सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र, बेलडाँडी पुर्याएका थिए।
धामीको स्वास्थ्य अवस्था गम्भीर रहेकाले उनलाई सोमबार बिहान थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल उनको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमै राखिएको छ।
प्रहरीका अनुसार मृतक धामी रोजगारीको सिलसिलामा भारतमा थिए र घटना हुनुभन्दा एक साताअघि मात्रै घर फर्किएका थिए। उनका आफन्तहरू बेलडाँडी गाउँपालिका–५, झिलमिलामा बस्दै आएका थिए। धामीको परिवारले त्यहाँको घरजग्गा बिक्री गरी भारतमै स्थायी रूपमा बसोबास गर्दै आएको र हाल उनीहरू अस्थायी रूपमा बङ्कमा घर बनाएर बसिरहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



