
बैतडीमा घरको छत फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा एक जनप्रतिनिधिसहित चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पक्राउ पर्नेमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा सदस्य विनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनी रहेका छन्।
प्रहरीका अनुसार करिब एक महिनाअघि दशरथचन्द नगरपालिका–५ आल गाउँका जयदेव भट्टको घरमा घरधनी नभएको मौका छोपेर छत फोडी तामाका भाँडाकुँडा चोरी भएका थिए। सोही घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई शङ्कास्पद रूपमा संलग्न रहेको आशङ्कामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्।
पक्राउ परेका चारै जनाविरुद्ध घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


