
भारतबाट अवैध लागुऔषध खैरो हेरोइन भित्र्याउँदै गरेका दुई जना कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले झापामा दुई राउन्ड हवाई फायर गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा शाखाको टोलीले झापा गाउँपालिका–१ स्थित तालमाराबाट उनीहरूलाई पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा खटिएको ब्युरोको टोलीले भारततर्फबाट लागुऔषध लिएर आउँदै गरेका उनीहरूलाई घेराबन्दी गरेर नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गर्नुपरेको लागुऔषध नियन्त्रण ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुवास बोहराले जानकारी दिनुभयो।
पक्राउ परेका आरोपीहरूको साथबाट करिब १५० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
नेपाली नागरिक रहेका पक्राउ परेका दुवै जनाले लागुऔषध ओसारपसार तथा कारोबारका लागि भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेको भेटिएको छ। पक्राउ परेका व्यक्तिहरूको पहिचान भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



