
शिक्षा विकास तथा समन्वय इकाई, चितवनले जिल्लाका शिक्षक तथा कर्मचारीहरूलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न कडा निर्देशन दिएको छ। इकाईले जिल्लाभरका सम्पूर्ण विद्यालयहरूलाई औपचारिक पत्राचार गर्दै प्रचलित कानुन तथा आचारसंहिताको पूर्ण पालना गर्न र सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार बन्न आग्रह गरेको हो।
केही शिक्षक तथा कर्मचारीहरूले पदीय आचारसंहिता विपरीत सामाजिक सञ्जाल प्रयोग गरेको भन्दै गुनासो आएपछि इकाईले उनीहरूलाई कानुनी व्यवस्थाबारे सचेत गराएको हो।
शिक्षा विकास तथा समन्वय इकाई, चितवनका प्रमुख कृष्णचन्द्र पोखरेलका अनुसार कानुन र नियमावलीमा उल्लिखित व्यवस्थाहरूको स्मरण मात्र गराइएको हो। "कानुन र नियमावलीमा भएका कुरा सम्झाएको मात्रै हो, यसको पालना सबैले गर्नुपर्छ," प्रमुख पोखरेलले भने।
इकाईले पत्राचारमार्फत शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (घ) र सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० को दफा ४ मा रहेका कानुनी प्रावधानहरूबारे ध्यानाकर्षण गराएको छ।
निर्देशनअनुसार, नेपाल सरकार र नेपाली जनताबीचको सम्बन्धमा खलल पुग्ने गरी बेनामी वा काल्पनिक नामबाट लेख-रचना प्रकाशन गर्ने, प्रेसलाई सूचना दिने, रेडियो वा टेलिभिजनमा भाषण गर्ने तथा सार्वजनिक रूपमा भाषण वा वक्तव्य दिने जस्ता कार्यहरूमा कानुनी रूपमा बन्देज लगाइएको छ।
साथै, शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) बमोजिम आफ्ना विद्यालयका शिक्षक तथा कर्मचारीहरूले आचारसंहिता पालना गरे-नगरेको प्रभावकारी अनुगमन र नियमन गर्न पनि इकाईले सम्बन्धित विद्यालय प्रशासनलाई आग्रह गरेको छ।



