
काठमाडौँ । भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले सम्भावित विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रदेश तथा स्थानीय तहका स्वास्थ्य निकाय, अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक औषधि, उपकरण, जनशक्ति तथा अन्य अत्यावश्यक सामग्री तयारी अवस्थामा राख्न आग्रह गरेको हो।
विपद्का समयमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने व्यवस्था मिलाउन तथा सार्वजनिक बिदाका दिनमा समेत सम्पर्कमा रहने व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ।
त्यस्तै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा राखी विपद्को समयमा स्वास्थ्यसम्बन्धी सूचना र समन्वयलाई प्रभावकारी बनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ।



