
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमयुक्त क्षेत्रमा रातिको समयमा सवारी आवागमनमा समेत रोक लगाइएको छ।
ललितपुरको कान्तिलोकपथअन्तर्गत पाङ्दुरमा पहिरो खस्दा असोज ९ गते बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ। बागमती गाउँपालिका–३ टाकुर्चेमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गसहितका सडकमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारी तथा पैदल यात्रुको आवागमनमा रोक लगाइएको छ। भोजपुरमा मध्यपहाडी लोकमार्ग तथा भित्री सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकिएको छ। अत्यावश्यक सेवाका सवारी भने प्रहरीसँग समन्वय गरी सञ्चालन गर्न सकिने जनाइएको छ।
त्यस्तै, शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। चितवन तथा आसपासमा बाढी–पहिरोको जोखिमका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पनि सम्पूर्ण सवारी आवागमन बन्द गरिएको छ।
धादिङको पृथ्वीराजमार्गमा पनि बाढी–पहिरोको जोखिमका कारण आवागमन रोकिएको छ। बेनिघाट रोराङ–१० पानीधारामा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ भने कृष्णभिर, गौमतीखोला, चालिसे र परेवाभिर क्षेत्रमा पहिरोका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।



