
सुर्खेत– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै कर्णालीमा पर्याप्त खाद्यान्न मौज्दात व्यवस्थापन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ। विगतमा चाडपर्वका बेला दुर्गम तथा हिमाली जिल्लाका डिपोमा चामल अभाव हुने गरे पनि यस वर्ष आवश्यक खाद्यान्न समयमै पुर्याइएको कम्पनीको दाबी छ।
कर्णालीका नौ जिल्लामा ८१ वटा वितरण केन्द्रमार्फत खाद्यान्न बिक्री भइरहेको छ। हुम्लामा भने दसैँअघि खाद्यान्न ढुवानी जारी रहेको छ। गाउँस्तरमै बिक्री केन्द्र सञ्चालन गरिएकाले उपभोक्तालाई सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता कम हुने कम्पनीले जनाएको छ।
कर्णालीमा खाद्यान्न छुटका लागि यस वर्ष एक करोड ४० लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ। सुर्खेतस्थित प्रादेशिक कार्यालयमा १३ हजार क्विन्टल चामल, ६ सय ४० क्विन्टल दाल, ४० हजार लिटर तेल र ४ सय ५० क्विन्टल चिनी मौज्दात राखिएको छ।
आवश्यकता बढेमा अन्य जिल्लाबाट समेत खाद्यान्न व्यवस्थापन गर्ने गरी आपूर्ति व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। यद्यपि स्थानीय उत्पादनले माग धान्न नसक्ने भएकाले कर्णालीको दीर्घकालीन खाद्य सुरक्षाका लागि उत्पादन र भण्डारण क्षमता बढाउनुपर्ने अवस्था भने कायमै छ।



