
सुर्खेत, साउन १० — सुर्खेतको वीरेन्द्रनगर–४ हिलेखाली चोक नजिक शनिबार बेलुका एसएमएल बसले अटोलाई पछाडिबाट ठक्कर दिँदा तीन जना घाइते भएका छन्।
बाङ्गेसिमलबाट बजारतर्फ आउँदै गरेको भे १ ह ४८८१ नम्बरको अटोलाई कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०१००१ ख ०७९९ नम्बरको एसएमएल बसले ठक्कर दिँदा अटो सडकको बायाँतर्फ पल्टिएको थियो।
दुर्घटनामा अटो चालक वीरेन्द्रनगर–१ का ३६ वर्षीय अम्मर बोहरा तथा बसमा सवार कालिकोट पाचलझरना गाउँपालिका–२ का ५ वर्षीय खेम तिरुवा र १९ वर्षीय सुरेन्द्र तिरुवा घाइते भएका छन्। तीनै जनाको अवस्था मध्यम रहेको र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालक २४ वर्षीय सोबिन्द्र विकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



