
खाँडाचक्र-३, ताडी, कालिकोट –
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ३ ताडीमा रहेको बसपार्कको पुनःनिर्माण तथा सरसफाइ अभियान स्थानीय बासिन्दाको सक्रियतामा सुरु भएको छ। लामो समयदेखि प्रयोगविहीन र फोहोरले भरिएको बसपार्क भवनलाई स्थानीय युवाहरूले श्रमदान गरेर सफा गर्दै पुनः प्रयोगमा ल्याउने अभियान थालेका हुन्।
अभियानमा स्थानीय समाजसेवी प्रदिप पाण्डे लगायत स्थानीय बासिन्दाहरू आफै खटिएका छन्। भवनभित्र जमेको फोहोर, मलबा र लामो समयदेखिको दुर्गन्ध हटाएर बसपार्कलाई सफा, स्वच्छ र सुन्दर बनाउने लक्ष्य लिइएको छ।
स्थानीय बासिन्दा प्रदिप पाण्डेले भने, "हाम्रो गाउँ केही राजनीति विशेषले परिवर्तन हुने होइन, तपाईं हामी मिलेर परिवर्तन गरौं। म बाहेक अरू कोई छैन भन्ने सोच होइन, सबै मिलेर अगाडि बढौं। पत्रकार, कर्मचारी, समाजसेवी लगायत सबैमा मेरो आग्रह छ। प्रचार होइन परिणाम, भाषण होइन समाधान चाहिन्छ।"
उनले बसपार्क पुनःनिर्माणले ताडी क्षेत्रका यात्रुहरूलाई सहज हुने, स्थानीय व्यापार व्यवसायमा सहयोग पुग्ने र गाउँको मुहार फेरिने बताए।
स्थानीयका अनुसार बसपार्क लामो समयदेखि मर्मत सम्भार नहुँदा प्रयोगविहीन बनेको थियो। अब स्थानीयको श्रमदान र सहभागितामा यसलाई पुनः सञ्चालनमा ल्याउन लागिएको हो।
"हाम्रो गाउँ, हाम्रो जिम्मेवारी" भन्ने नाराका साथ सुरु गरिएको यस अभियानमा सबैलाई सहभागी हुन आह्वान गरिएको छ।



