
हुम्लाको हेल्दुम विद्युत् वितरण केन्द्रमा खराबी आएपछि जिल्लामा २१ दिनदेखि विद्युत् सेवा पूर्णरूपमा बन्द भएको छ। केन्द्रीय प्रसारण लाइन नपुगेको यस जिल्लामा स्थानीय विद्युत् प्रणालीमा आएको समस्या समयमै मर्मत हुन नसक्दा सर्वसाधारणले ठूलो सास्ती भोग्नुपरेको छ।
विद्युत् आपूर्ति बन्द हुँदा खानेपानी आपूर्ति, सरकारी कार्यालयका कामकाज र मोबाइल नेटवर्कसहितका सञ्चार सेवाहरू प्रभावित भएका छन्। पछिल्लो समय भएको हिमपातका कारण मोबाइल टावरका सोलार प्रणालीले पनि पर्याप्त ऊर्जा उत्पादन गर्न सकेका छैनन्। यसले गर्दा फोन चार्ज गर्नसमेत मुस्किल भएको र जिल्लाबाहिर सम्पर्क गर्न कठिन भएको छ ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार विद्युत् मर्मतका लागि आवश्यक सामग्रीहरू नेपालगञ्जमै थन्किएका छन्। प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुँदा ती सामग्री हुम्ला पुर्याउन नसकिएको उनले जानकारी दिए। आवश्यक सामग्री जिल्लामा आइपुगेपछि पनि सेवा सुचारु गर्न थप करिब एक साता लाग्ने बताइएको छ।
अत्यधिक चिसो बढेको समयमा विद्युत्, सञ्चार र खानेपानी सेवा अवरुद्ध हुँदा हुम्लाको जनजीवन निकै कष्टकर बन्नुका साथै अत्यावश्यक सूचना आदानप्रदानमा समेत कठिनाइ उत्पन्न भएको छ।



