- जेष्ठ २१, २०८३
- No Comment
- 9
उपचार गर्ने भन्दै कैदीलाई होटल लगेर प्रहरीले खुवाए मासु र बियर

काठमाडौं । उपचारका लागि अस्पताल लैजाने बहानामा एक कैदीलाई होटलमा लगेर मासु तथा बियर खुवाउनुका साथै युवतीसँग समय बिताउन दिएको आरोपमा दुई प्रहरी कर्मचारीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ।
प्रहरीको आन्तरिक छानबिन प्रतिवेदनले प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकले ड्युटीमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको हो। छानबिन समितिले दुवैलाई प्रहरी संगठनबाट बर्खास्त गर्नुपर्ने सिफारिस गरेको जनाएको छ।
घटना गत १ जेठको हो। ठगी मुद्दामा कैद भुक्तान गरिरहेका अनुप भण्डारीलाई उपचारका लागि सामाखुसीस्थित अस्पताल लैजाने भन्दै कारागारबाट बाहिर निकालिएको थियो। तर उपचारका क्रममा उनीहरू अस्पतालको सट्टा सामाखुसीस्थित एक गेस्ट हाउसमा पुगेको अनुसन्धानबाट खुलेको छ।
छानबिन प्रतिवेदनअनुसार कैदी भण्डारीलाई गेस्ट हाउसमा मासु र बियर सेवन गर्न दिइएको थियो भने एक युवतीसँग केही समय बिताउनसमेत अनुमति दिइएको थियो। उक्त समयमा सुरक्षामा खटिएका दुवै प्रहरी बर्दी र हतियारसहित उपस्थित रहेको तथा कैदीको हतकडीसमेत फुकालिएको उल्लेख गरिएको छ।
प्रहरी स्रोतका अनुसार घटनाबारे सूचना बाहिरिएपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) नरहरि रेग्मी नेतृत्वको टोलीले आन्तरिक अनुसन्धान गरेको थियो। अनुसन्धान प्रतिवेदन काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा बुझाइसकिएको बताइएको छ।
छानबिनका क्रममा कैदी भण्डारीले पनि अस्पतालमा चिकित्सक उपलब्ध नभएकाले आफूलाई गेस्ट हाउस लगिएको र त्यहाँ मदिरा सेवन गर्न तथा महिलासँग बस्न दिइएको स्वीकार गरेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा कैदीबन्दीको सुरक्षाजस्तो संवेदनशील जिम्मेवारीमा खटिएका प्रहरी कर्मचारीबाट गैरजिम्मेवार, अनुशासनहीन र संगठनको आचरणविपरीत कार्य भएको ठहर गर्दै कडा कारबाही आवश्यक रहेको औंल्याइएको छ।
यस घटनाले सुन्धारा कारागारको सुरक्षा व्यवस्थामाथि थप प्रश्न उठाएको छ। पछिल्लो एक महिनाभित्र उक्त कारागारबाट एक महिला कैदी फरार भएको, महिला बन्दीगृहमा झडप भएको तथा अहिले सुरक्षाकर्मीको संलग्नतामा भएको भनिएको यो घटना सार्वजनिक भएपछि कारागार सुरक्षाको प्रभावकारितामाथि गम्भीर चासो व्यक्त हुन थालेको छ।



