- जेष्ठ ८, २०८३
- No Comment
- 13
मुक्त हलिया तथा दलित समुदायका युवाका लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकामा मुक्त हलिया तथा दलित समुदायका युवायुवतीहरुलाई लक्षित गर्दै सञ्चालन गरिएको पाँच दिने पालिका स्तरीय रूपान्तरण शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम (TEP) सम्पन्न भएको छ।
स्थानीयदेखि विश्वव्यापी मानवअधिकार वकालतमार्फत नेपालमा सीमान्तकृत समुदाय तथा सामाजिक रूपमा बहिष्कृत जनसंख्याको सशक्तीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको L2G परियोजना अन्तर्गत तालिम आयोजना गरिएको हो। २०८३ जेठ ४ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको तालिम चौकुने गाउँपालिका वडा नं. १ देखि १० सम्मका युवा युवतीहरुको सहभागितामा सम्पन्न भएको छ।
तालिममा प्रशिक्षक हरीसिंह बोहरा र भुवन चुनाराले सहजीकरण गर्नुभएको थियो। डम्मरे कामिको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा चौकुने गाउँपालिका अध्यक्ष खडक बि.क. वासपाने प्रमुख अतिथि रहनुभएको थियो भने बिशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर बि.क. राष्ट्रिय मुक्त हलिया महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष पर्वत सुनारको समेत उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खडक बि.क. वासपानेले समाजमा पछाडि पारिएका समुदायका युवाहरुलाई शिक्षा, सीप र नेतृत्व विकासमार्फत सशक्त बनाउन यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो।
उहाँले समुदायमा चेतना र सकारात्मक परिवर्तन ल्याउन युवाहरुको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो। त्यस्तै राष्ट्रिय मुक्त हलिया महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष पर्वत सुनारले मुक्त हलिया तथा दलित समुदायको अधिकार सुनिश्चित गर्न राज्य र समुदाय दुवै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। उहाँले तालिमले सहभागी युवाहरुलाई सामाजिक रूपान्तरणको अभियानमा सक्रिय बन्न प्रेरणा दिएको बताउनुभयो। कार्यक्रम राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल तथा जिल्ला मुक्त हलिया समाज सुर्खेतको आयोजनामा तथा चौकुने गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो।



